डा. स्वर्णिम वाग्ले विरुद्धको दुष्प्रचारप्रति “एएनए” को गम्भीर चासो

इनेप्लिज २०८३ जेठ २४ गते ११:२२ मा प्रकाशित

वासिङ्टन डी.सी. । एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज (एएनए) ले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विरुद्ध पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भइरहेको भनिएको चरित्रहत्या, दुष्प्रचार तथा भ्रम सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

“एएनए” का अध्यक्ष खगेन्द्र अधिकारी द्वारा जारी प्रेस विज्ञप्तिमा केही सञ्चारकर्मी तथा अन्य व्यक्तिहरूबाट तथ्यहीन, अपुष्ट तथा पूर्वाग्रहपूर्ण सामग्री सार्वजनिक गरी डा. वाग्लेको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आघात पुर्‍याउने प्रयास भएको दाबी गरिएको छ। संस्थाले यस्ता गतिविधिको निन्दा गर्दै पत्रकारिताको मूल मर्म, व्यावसायिक नैतिकता र आचारसंहिताको पालना हुनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै तथ्य र प्रमाणमा आधारित पत्रकारिताले मात्र जनविश्वास कायम राख्न सक्ने धारणा व्यक्त गरिएको छ। व्यक्तिगत पूर्वाग्रह वा द्वेषका आधारमा समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मूल्य र मान्यता विपरीत हुने एएनएको भनाइ छ।

“एएनए” ले आफ्नो प्रतिष्ठाको रक्षा, सत्यतथ्यको स्थापना तथा न्यायको सुनिश्चितताका लागि कानुनी उपचारको मार्ग अवलम्बन गर्नु प्रत्येक नागरिकको संवैधानिक तथा लोकतान्त्रिक अधिकार भएको जनाएको छ। साथै, नियोजित रूपमा गलत सूचना प्रवाह गर्ने, चरित्रहत्या गर्ने व्यक्तिगत तथा पेशागत क्षति पुर्‍याउने उद्देश्यले गरिएका गतिविधि प्रमाणित भएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही हुनुपर्ने धारणा पनि व्यक्त गरेको छ।

संस्थाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै त्यसको जिम्मेवार प्रयोग आवश्यक रहेको उल्लेख गरेको छ। अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन सामग्री प्रकाशन गर्ने, व्यक्तिको प्रतिष्ठामा आघात पुर्‍याउने तथा समाजमा भ्रम र अविश्वास फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सम्बन्धित निकाय, सञ्चार संस्था तथा सञ्चारकर्मीहरूले आवश्यक पहल गर्नुपर्ने “एएनए” को सुझाव छ।

विज्ञप्तिको अन्त्यमा सत्य, पारदर्शिता, सुशासन तथा राष्ट्रिय हितप्रति प्रतिबद्ध व्यक्तित्वहरूलाई निराधार आरोप र दुष्प्रचारका माध्यमबाट कमजोर बनाउने प्रयास लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै यस्ता प्रवृत्तिको अन्त्य कानुनको शासन, सत्यतथ्य र न्यायिक प्रक्रियाबाट हुनुपर्नेमा जोड दिइएको छ।

“एएनए” ले पत्रकारिता क्षेत्रमा सत्य, निष्पक्षता, उत्तरदायित्व, व्यावसायिकता तथा नैतिक मूल्य–मान्यतामा आधारित अभ्यासको प्रवर्द्धन र संरक्षणका लागि सञ्चार क्षेत्र, नागरिक समाज तथा सरोकारवालाहरू एकजुट हुनुपर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया