कांग्रेस -एमाले विसर्जनको ऐतिहासिक महाजात्रा

इनेप्लिज २०८३ असार १७ गते २३:२५ मा प्रकाशित

बेद प्रसाद घिमिरे

समय एउटा यस्तो निर्मम र गतिमान नदी हो, जसले आफ्नो प्रवाहमा अवरोध बन्ने पुराना र मक्किएका भग्नावशेषहरूलाई बगाएर किनारा लगाइदिन्छ। नेपाली राजनीतिका दुई महावृक्ष दाबी गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान हविगतलाई नियाल्दा समयको त्यही अचूक र कठोर फैसला सतहमा आएको अनुभूत हुन्छ। हिजो जसले क्रान्तिको राँको बालेर जनतालाई सुशासनको सपना बेचे, आज तिनै दल र तिनका नेतृत्व ‘जेन्-जेड (Gen-Z) क्रान्ति’ को रातो आँधीबेहरीमा परेर जरैदेखि हल्लिएका मात्र छैनन्, बरु नेपाली राजनीतिको रङ्गमञ्चबाट पूर्ण रूपमा तुरिने (सकिएर जाने) अन्तिम संघारमा आइपुगेका छन्। यो कुनै आकस्मिक राजनीतिक फेरबदल होइन, बरु विगत साढे तीन दशकदेखि हुर्किएको विसङ्गति र लुटतन्त्रको स्वाभाविक अवसान-पर्व हो।

नेपाली कांग्रेस र एमालेको विगत ३५ वर्षको सत्ता-यात्रा जनसेवाको अभिलेख होइन, बल्कि नीतिगत भ्रष्टाचार र भयानक काण्डहरूको एउटा कुरुप र कहालीलाग्दो दस्तावेज हो। प्रजातन्त्रको मसिहा बन्न खोज्ने कांग्रेसले २०४८ सालपछि ‘उदारीकरण’ को अदूरदर्शी नाममा देशका आत्मनिर्भर कलकारखाना र उद्योगहरू कौडीको भाउमा बेचेर राष्ट्रिय स्वाभिमानको मेरुदण्ड नै भाँचिदियो। सुडान घोटाला, लाउडा काण्ड र धमिजा काण्डको धमिलो जगमा उभिएको कांग्रेसको राजनीति पछिल्लो समय आफ्नै देशका नागरिकलाई अनागारिक बनाई मानव तस्करी गर्ने ‘नक्कली भुटानी शरणार्थी काण्ड’ सम्म आइपुग्दा पूर्ण रूपमा कलङ्कित र दुर्गन्धित बन्न पुग्यो। टेरामोक्स प्रविधि खरिदमा भएको राज्यशक्तिको चरम दुरुपयोगले त यसको सुशासनको मकुन्डो नै पूरै उतारिदिएको छ।

अर्कोतर्फ, सर्वहारा र श्रमजीवी वर्गको नारा जपेर नथाक्ने नेकपा (एमाले) को हविगत पनि योभन्दा सुसंस्कृत र पवित्र रहेन। एमालेको सत्ता-लिप्सा ‘गिरीबन्धु टी–स्टेट’ को अर्बौँ मूल्यको सरकारी जग्गा नीतिगत रूपमा भूमाफियाको पोल्टोमा सुम्पिने प्रपञ्च, महाव्याधिको त्रासदीपूर्ण समयमा औषधी र स्वास्थ्य सामग्री खरिदमा रचिएको ओम्नी काण्ड, तथा नेपालको आकाशलाई नै बदनाम गराउने वाइडबडी विमान खरिद घोटाला जस्ता अक्षम्य काण्डहरूको चाङमा ठिङ्ग उभिएको छ। बालुवाटारको ‘ललिता निवास’ जग्गा हिनामिना प्रकरणमा आफ्ना उच्च नेतृत्व र कार्यकर्ता जोगाउन राज्यका संयन्त्रलाई लाचार बनाउने खेल एमालेको चरित्रको पराकाष्ठा हो। यस्ता अनगिन्ती जनविरोधी हर्कतहरूले गर्दा नै जनता यी पुराना दलहरूबाट पूर्ण रूपमा विमुख भएका हुन्।

जब कुनै political दलको विचारको मृत्यु हुन्छ, र जनविश्वासको जग पूरै भत्किन्छ, तब त्यसका नायकहरू ‘कार्यगत एकता’ को खोक्रो र लाचार बाँसुरी बजाउन थाल्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले आएर कम्युनिष्ट पार्टीहरूबीचको एकताको च्याप्टर समाप्त भएको स्वीकार्दै “विचार मिल्न सक्ने शक्तिसँग कार्यगत एकता” को लाचार प्रस्ताव अघि सार्नु यसैको ज्वलन्त पुष्टि हो। हिजो सत्ताको शिखरमा बस्दा उन्मत्त दम्भ देखाउने, र ‘जेन्–जेड क्रान्ति’ का क्रममा सडकमा उत्रिएका निर्दोष युवाहरूमाथि गोली बर्साएर विद्रोह दबाउन खोज्ने तिनै नेतृत्व आज च्यासलको केन्द्रीय कार्यालयमा थुप्रिएर पार्टी पुनर्गठनको निरर्थक नाटक गर्दैछन्। तर इतिहास साक्षी छ, जब देशको सेनाले समेत जनविरोधी शासकको क्रूर आदेश मान्न अस्वीकार गर्यो र आक्रोशित जनसागरबाट तत्कालीन प्रधानमन्त्रीलाई बचाउन हेलिकप्टर चढाएर बालुवाटारबाट भगाउनुपर्ने स्थिति आयो, त्यही क्षण नै यी पुराना दलहरूको नैतिक र राजनीतिक मृत्यु भइसकेको थियो।

जेन्–जेड क्रान्ति केवल एउटा सरकार परिवर्तनको प्राविधिक जात्रा थिएन, यो त ३५ वर्षसम्म पालैपालो देशलाई मिलिजुली चुस्ने र कङ्गाल बनाउने काङ्ग्रेस–एमालेतन्त्र विरुद्ध नेपाली जनताको रगत र पसिनाले लेखेको अन्तिम विद्रोह थियो। आज संसद्‌मा झिनो र निरीह उपस्थितिमा खुम्चिएका यी पुराना बिल्लाधारी दलहरू वर्तमान सरकारका मन्त्रीहरूले देखाएको सुशासन, निष्पक्षता र भ्रष्टाचारप्रतिको निर्मम प्रहारबाट नराम्रोसँग अत्तालिएका छन्। उनीहरू संसद् र सडकमा न्वारनदेखिको बल निकालेर चिच्याउँदै सरकार ढाल्ने र सडक तताउने धम्की दिँदैछन्। तर, उनीहरूको यो गर्जन सिंहको होइन, सत्ता गुमेपछिको छटपटी र मृत्युशैयामा परेको बिरामीको कारुणिक अरण्यरोदन मात्र हो।

नदी जब आफ्नो किनार छोडेर अगाडि बढ्स, उल्टो बगेर फेरि मुहानतर्फ फर्कन सक्दैन। नेपाली राजनीति पनि अब सुशासन, पारदर्शिता र युवा नेतृत्वको नयाँ स्वर्णिम प्रस्थानविन्दुमा अगाडि बढिसकेको छ। विगतका अक्षम्य अपराध, नीतिगत लुट र जनद्रोही चरित्रका कारण नेपाली काङ्ग्रेस र एमाले अब नेपाली राजनीतिका मुख्य खेलाडी रहन सक्ने हैसियतमा छैनन्। उनीहरूको नियति अब केवल दर्शकदीर्घामा बसेर नयाँ पुस्ताको सुशासनयुक्त नव-निर्माणलाई निरीह भएर टुलुटुलु हेर्नु मात्रै हो। समयको यो अकाट्य र निर्मम फैसला हो— काङ्ग्रेस र एमालेको राजनीतिक आयु अब पूर्ण रूपमा तुरिइसकेको छ। यी इतिहासका जीवित लाशहरू फेरि बौरिने छन् र यिनले देश चलाउने छन् भनी दिवास्वप्न देख्नु महामूर्खता बाहेक केही हुन सक्दैन।

प्रतिक्रिया