दशौँ ग्रह

-खगराज बराल, पोखरा, नेपाल २०८३ जेठ २४ गते ११:१८ मा प्रकाशित

लघुकथा

दिन ढल्कँदै थियो । गाउँको चौतारीमा केही युवाहरू गफमा रमाइरहेका थिए । त्यही बेला दिनेश आइपुग्यो ।

उसलाई देख्नेबित्तिकै एकजनाले जिस्क्यायो, “के हो दिनेश, भाउजूलाई कता पुर्‍याएर आएको ?” दिनेशले सहज स्वरमा भन्यो, “माइत जान्छु भनी । बस चढाउन गएको नि ।”

अर्कोले तुरुन्तै थप्यो, “अनि तँचाहिँ सँगै गइनस् ?”

तेस्रोले अझ चर्को स्वरमा भन्यो, “नजिस्क्याऊ यार ! यो त ससुराली जानै डराउँछ ।” सबै हाँसे ।

दिनेश पनि हल्का मुस्कुरायो, तर केही बोलेन ।

“तँ पनि जानुपर्थ्यो नि ।” एउटाले भन्यो, “ससुराली घर पनि आफ्नै घर जस्तो त हो नि ।”

दिनेशले केहीबेर उनीहरूको अनुहार हेर्‍यो र बिस्तारै भन्यो, “कारण छ ।”

अब सबै जना उत्सुक भए । उनीहरू सबै अविवाहित थिए । उनीहरू दिनेशको नजिक सरे । “कस्तो कारण ?”

दिनेशले हल्का संकोच मिसिएको स्वरमा भन्यो, “ससुराली पुगेपछि ‘ज्वाइँ राजा’, ‘ज्वाइँ नारन्’ भनेर यति धेरै मान गर्छन् कि मलाई अप्ठ्यारो लाग्छ । कताकता आफू नै आफू जस्तो नलाग्ने ।”

“त्यो त सम्मान गरेको होला नि !”


“सम्मान ठीकै हो,” दिनेशले भन्यो, “तर, म राजा पनि होइन, नारन् पनि होइन ।”

साथीहरू फेरि हाँसे। एकजनाले व्यङ्ग्य गर्‍यो, “खुब फरक मान्छे परेछन् हाम्रा दिनेश ! सबै ज्वाइँ राजा हुँदा मख्ख पर्छन्, तर दिनेशलाई चाहिँ…!”

अर्कोले थप्यो, “श्रीमतीका लागि श्रीमान् राजा नै हुन्छन् नि । यति गाह्रो मान्नुपर्ने के छ र ?”

दिनेश केही बोल्न खोज्दै थियो । त्यत्तिकैमा उसले बाटोतिर हेरेर भन्यो, “उता शास्त्रीजी आउँदै हुनुहुन्छ। यस्ता कुरा उहाँलाई थाहा होला ।”

शास्त्र पढेर शास्त्री भएका हुन्, उनलाई पक्कै थाहा छ, अर्कोले भन्यो।

साँच्चै, सेताम्मे दाह्री मुसार्दै शास्त्रीजी चौतारीतिर आइरहेका थिए । नजिकै पुग्नेबित्तिकै उनीहरूमध्ये एक जनाले भन्यो, “शास्त्रीजी, एउटा कुरा मिलाइदिनुपर्‍यो ।”

“पहिला कुरा त भन भाइ,” शास्त्रीजी हाँस्दै बसे, “यत्तिकै कसरी मिलाइदिनु ?”

“ज्वाइँलाई ‘ज्वाइँ राजा’ वा ‘ज्वाइँ नारन्’ किन भनिन्छ ?”

शास्त्रीजीले दिनेशतिर हेरे, “अनि त्यसले कसलाई दुःख दिएछ ?”

सबैले एकैचोटि दिनेशतिर औँला देखाए।

“ए हो ! समस्या यहाँ रहेछ।” दिनेश लजायो ।

शास्त्रीजी केहीबेर मौन बसे। त्यसपछि बिस्तारै बोले, “हाम्रो संस्कृतिमा छोरीलाई घरकी लक्ष्मी मानिन्छ । बाबुआमाले आफ्नी छोरीलाई राजकुमारीझैँ हुर्काएका हुन्छन् । त्यसैले उसको जीवनसाथीलाई प्रेम र सम्मानले ‘राजा’ वा ‘नारन्’ भन्न थालेका होलान् । त्यो तिम्रो पद होइन, उनीहरूको माया हो ।” युवाहरू चुपचाप सुनिरहेका थिए ।

शास्त्रीजी फेरि मुस्कुराए, “यसबारे एउटा पुरानो उखानजस्तै श्लोक पनि छ ।” अब सबै झन् नजिक सरे।

शास्त्रीजीले बिस्तारै उच्चारण गरे, भारतं पञ्चमो वेद: सुपुत्र: सप्तमो रस:। दाता पञ्चदशं रत्नं जामाता दशमो ग्रह:।”

युवाहरू अर्थ नबुझेर अलमलिए । शास्त्रीजीले नेपालीमा उल्था गर्दै भने, “महाभारतलाई पाँचौँ वेदभनिन्छ, असल छोरालाई सातौँ रस । दानी मानिसलाई रत्नसरह मानिन्छ, अनि ज्वाइँलाई चाहिँ दशौँ ग्रह ।”

युवाहरूलाई रमाइलो लाग्यो । एकजनाले तुरुन्तै सोध्यो, “तर ज्वाइँलाई दशौँ ग्रह किन भनेको ?”

शास्त्रीजी हाँसे, “सायद यसकारण कि ग्रहहरूलाई पनि खुसी राख्नुपर्छ भन्ने मान्यता छ । रिसाए भने दुःख दिन्छन् भन्थे । ज्योतिष शास्त्रमा सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु गरी ९ वटा मुख्य ग्रहहरू मानिन्छन् । यी ग्रहहरूले मानिसको भाग्य बिगार्ने वा बनाउने गर्छन् भन्ने विश्वास गरिन्छ । यहाँ ज्वाइँलाई दशौँ ग्रह भनेर व्यङ्ग्य गरिएको हो । ज्वाइँ पनि त्यस्तै— आदर गरे खुसी, बेवास्ता गरे रिसाउने ।”

यति सुन्नासाथ चौतारी फेरि हाँसोले भरियो।

एउटाले ठट्टा गर्‍यो, “त्यसो भए त ज्वाइँलाई राजा भन्नु भनेको उसको अहम् समयमै नियन्त्रण गर्ने तरिका पो रहेछ !”

सबै हाँसिरहे, तर दिनेश भने अलि गम्भीर देखिन्थ्यो। उसले बिस्तारै भन्यो, “तिमीहरूलाई रमाइलो लाग्ला । तर मलाई त यो राजा वा नारन् बनेर सोफामा कक्रिएर बस्नुभन्दा आफ्नै घरको कारिन्दा बनेर काम गर्न सजिलो लाग्छ । ससुराली जाँदाको यो अति औपचारिकताले दिक्क लाग्छ ।”

यसपालि हाँसो अझ ठूलो भयो । शास्त्रीजी पनि दाह्री मुसार्दै हाँसे ।

दिनेशले अविवाहित साथीहरूतिर हेर्दै मुस्कुराएर भन्यो, “म त दशौँ ग्रह भएर बसिरहेको छु।

तिमीहरूचाहिँ अझै दशौँ ग्रह बन्ने लगन हेरेर बसेका छौ त !”

चौतारी फेरि हाँसोले गुञ्जियो । शास्त्रीजीले पुलुक्क दिनेशतिर हेरेर भने, “नआत्तिनु दिनेश भाइ, म पनि कसैको दशौँ ग्रह नै हुँ ।”

प्रतिक्रिया