जनताको प्रश्न छ कांग्रेस आखिर कहाँ सुध्रियो ?

इनेप्लिज २०८३ जेठ २२ गते २२:०२ मा प्रकाशित

बेद प्रसाद घिमिरे

नेपालको राजनीति आज गम्भीर संक्रमणबाट गुज्रिरहेको छ। बाहिरबाट हेर्दा समस्या केवल सरकार, दल वा नेतामा सीमित देखिएला, तर वास्तविक संकट राजनीतिक संस्कार, नागरिक चेतना र संस्थामाथिको कमजोर विश्वासमा छ। अझ विशेष गरी, आजको नेपाली राजनीतिमा सबैभन्दा खतरनाक रोग बनेको छ — व्यक्तिपूजा, अन्धसमर्थन र अन्धविरोध।

हामीले लोकतन्त्र ल्यायौं, संविधान बनायौं, निर्वाचन गर्‍यौं, सरकार फेर्‍यौं; तर लोकतान्त्रिक चेतनालाई अझै परिपक्व बनाउन सकेका छैनौं। आज पनि हाम्रो राजनीति विचार, नीति र संस्थाभन्दा बढी व्यक्तिमा केन्द्रित छ। कसैलाई देवता बनाइन्छ, कसैलाई दानव। कसैको हरेक कुरा सही देखिन्छ, कसैको हरेक काम गलत। यही मानसिकताले देशलाई बारम्बार विभाजित गरिरहेको छ।

वास्तविकता के हो भने कुनै पनि राष्ट्र व्यक्तिले होइन, संस्थाले चलाउँछ। बलियो न्यायपालिका, उत्तरदायी सरकार, सक्षम प्रशासन, स्वतन्त्र सञ्चार माध्यम र सचेत नागरिक नै समृद्ध राष्ट्रका आधार हुन्। व्यक्ति बदलिन्छन्, सत्ता बदलिन्छ, तर संस्था रहन्छन्। त्यसैले व्यक्तिपूजाको राजनीतिले लोकतन्त्रलाई बलियो बनाउँदैन, बरु कमजोर बनाउँछ।

आज नेपाली कांग्रेसभित्र देखिएको संकट पनि यही प्रवृत्तिको परिणाम हो। एक समय लोकतन्त्रको नेतृत्व गरेको पार्टी अहिले आफ्नै कार्यकर्ता, मतदाता र शुभचिन्तकहरूको प्रश्नको घेरामा छ। गाउँदेखि सहरसम्म एउटै प्रश्न सुनिन्छ — “कांग्रेस कहाँ सुध्रियो?”

दुःखको कुरा, यो प्रश्नको स्पष्ट र विश्वसनीय उत्तर पार्टी नेतृत्वसँग पनि देखिँदैन। नेतृत्व फेरियो, तर प्रवृत्ति फेरिएन। भाषण फेरियो, तर व्यवहार फेरिएन। कार्यकर्ताको भावना भन्दा गुटीय स्वार्थ बलियो बन्यो। निष्ठाभन्दा चाकडी मूल्यवान बनाइयो। गलतलाई सच्याउनेभन्दा ढाकछोप गर्ने संस्कार बलियो बनाइयो।

भदौ २३/२४ गते पार्टी सभापतिमाथि भएको दुर्व्यवहारले कांग्रेसभित्रको यही आन्तरिक अराजकता उजागर गरिदियो। असहमति लोकतन्त्रको सुन्दर पक्ष हो, तर असहमतिको नाममा मर्यादा तोडिनु र त्यसपछि पनि पार्टीभित्र स्पष्ट नैतिक अडान नदेखिनु अत्यन्त दुःखद विषय हो।

यो केवल एउटा व्यक्तिमाथिको व्यवहार थिएन; यो कांग्रेसभित्र हराउँदै गएको राजनीतिक संस्कारको संकेत थियो।

सबैभन्दा चिन्ताजनक कुरा के हो भने, पार्टीभित्र सत्य बोल्नेलाई असहज मान्ने र अन्धसमर्थन गर्नेलाई “निष्ठावान” ठान्ने प्रवृत्ति बढ्दै गएको छ। आलोचनालाई सुधारको अवसर होइन, विद्रोहको रूपमा हेर्ने मानसिकताले पार्टीभित्र आत्ममन्थनको ढोका बन्द गरिरहेको छ।

म कुनै व्यक्तिको अन्धसमर्थक होइन। राम्रो काम भए खुलेर प्रशंसा गर्छु। गलत भए स्पष्ट आलोचना गर्छु। किनकि राजनीति भनेको चाकडी होइन, सत्य बोल्ने साहस पनि हो।

भित्र तिते करेला खाएर बाहिर जेरिको बखान गर्दै मुख मिठ्याउने राजनीति अन्ततः जनतामाथिको धोका हो।

आज समाजमा अर्को खतरनाक प्रवृत्ति पनि मौलाइरहेको छ — फरक विचार राख्नेलाई शत्रु देख्ने प्रवृत्ति। यदि कसैले सरकारको राम्रो कामको प्रशंसा गर्‍यो भने उसलाई “झोले” भनिन्छ। यदि कसैले कमजोरीको आलोचना गर्‍यो भने उसलाई “देशद्रोही” वा “विरोधी” देखिन्छ। यो लोकतान्त्रिक संस्कार होइन।

लोकतन्त्रको सुन्दरता विविधतामा एकता हो। सबैले एउटै कुरा सोच्नुपर्छ भन्ने होइन। कसैले समर्थन गर्न सक्छ, कसैले विरोध गर्न सक्छ। दुवै अधिकार लोकतन्त्रले दिएको छ। स्वस्थ समाजमा बहस हुन्छ, द्वेष हुँदैन। तर्क हुन्छ, अपमान हुँदैन।

हरेक नागरिकले अमृतलाई अमृत र विषलाई विष भन्न सक्ने क्षमता विकास गर्न आवश्यक छ। आफूलाई मनपर्ने व्यक्तिले गल्ती गरे पनि त्यसलाई उपलब्धि जस्तो देख्ने, र आफूलाई मन नपर्ने व्यक्तिले राम्रो काम गरे पनि त्यसलाई असफलता मान्ने प्रवृत्तिले राष्ट्रलाई अगाडि बढाउँदैन।

यदि अमृतलाई पनि फोहोर भनिन्छ भने त्यो विवेकको हार हो। यदि फोहोरलाई केवल आफ्नो पक्षले ल्यायो भनेर अमृत भनिन्छ भने त्यो पनि विवेकको हार हो।

राष्ट्र निर्माणको आधार यही हो — हामी वस्तुलाई वस्तुकै रूपमा हेर्न सकौं। राम्रोलाई स्वीकार गर्न सकौं। गलतलाई सच्याउन सकौं।

आज नेपाललाई अन्धसमर्थक र अन्धविरोधीभन्दा बढी विवेकी नागरिक चाहिएको छ। सरकार पुरानो होस् वा नयाँ, युवा होस् वा अनुभवी — मूल्याङ्कन कामका आधारमा हुनुपर्छ। प्रशंसा र आलोचना तथ्यमा आधारित हुनुपर्छ। नयाँ नेतृत्वलाई काम गर्ने उचित समय र अवसर दिनुपर्छ। पुराना नेतृत्वका सकारात्मक योगदानलाई पनि निष्पक्ष रूपमा स्वीकार गर्नुपर्छ।

लोकतन्त्रको शक्ति कुनै दल, नेता वा नारामा होइन; सत्यलाई स्वीकार गर्ने नागरिक चेतनामा हुन्छ। जब हामी आफूलाई मनपरेको व्यक्तिको गल्तीलाई पनि गल्ती भन्न सक्ने र आफूलाई मन नपरेको व्यक्तिको राम्रो कामलाई पनि राम्रो भन्न सक्ने हैसियतमा पुग्छौं, तब मात्र हामी वास्तविक लोकतान्त्रिक नागरिक बन्छौं।

त्यो दिन नेपालमा राजनीति मात्र होइन, नागरिक चेतना पनि परिपक्व हुनेछ। लोकतन्त्रको वास्तविक विजय त्यही दिन हुनेछ।
किनकि लोकतन्त्र तब बलियो बन्छ, जब नागरिकले दल होइन सत्यको पक्ष लिन्छन्। यी कुनै कुराको सुुुधारमा नेपाली कांग्रेस छैन जन्ताले भनिरहेका छन कार्यक्रताले कुरि रहेकाछन ।कार्यक्रताको मनमा लागिरहेको छ कांग्रेस आखिर कहाँ सुध्रियो?जनताको प्रश्न :छ कांग्रेस आखिर कहाँ सुध्रियो?

प्रतिक्रिया