निर्णय कांग्रेसकै हातमा छ, सचिने कि सकिने

इनेप्लिज २०८३ जेठ २२ गते २१:५२ मा प्रकाशित

नेपाली कांग्रेस एक समय लोकतन्त्र, त्याग, विचार र जनआन्दोलनको पर्याय थियो। जनताको अधिकारका लागि जेलनेल भोग्ने, निरंकुशताविरुद्ध सडकमा उत्रिने र राष्ट्रियताको सवालमा दृढ उभिने पार्टीको रूपमा कांग्रेसले इतिहास बनाएको हो। तर आज त्यही कांग्रेस आफ्नै इतिहासको भारी बोकेर दिशाहीन अवस्थामा पुगेको अनुभूति आम कार्यकर्ता र नागरिकले गरिरहेका छन्।

पछिल्ला वर्षहरूमा देशभरका गाउँदेखि सहरसम्म एउटा प्रश्न निरन्तर उठिरहेको छ— “कांग्रेस आखिर कहाँ सुध्रियो?”

यो प्रश्न विपक्षीले मात्र उठाएको होइन, कांग्रेसकै शुभचिन्तक, मतदाता र लामो समय पार्टीमा पसिना बगाएका कार्यकर्ताहरूले उठाइरहेका छन्। अझ दुःखद कुरा, यसको विश्वसनीय उत्तर पार्टी नेतृत्वसँग देखिँदैन।

भदौ २३/२४ को घटनाले पनि कांग्रेसको वर्तमान चरित्रलाई गम्भीर रूपमा उजागर गर्‍यो। लोकतन्त्र, विधि र जनताको पक्षमा उभिनुपर्ने पार्टी त्यस्तो संवेदनशील घटनामा स्पष्ट, जिम्मेवार र जवाफदेही रूपमा प्रस्तुत हुन सकेन। जनताले अपेक्षा गरेका थिए— कांग्रेसले सत्यको पक्षमा बोलोस्, अन्यायको विरोध गरोस् र घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी खोजोस्। तर पार्टीभित्रको गुटीय हिसाबकिताब, नेतृत्वको मौनता र अवसरवादी प्रवृत्तिले कांग्रेसलाई फेरि कमजोर बनायो।

कुनै पनि लोकतान्त्रिक दलको शक्ति उसको आत्मालोचना गर्ने क्षमतामा हुन्छ। तर आज कांग्रेसभित्र आलोचना सुन्ने संस्कार कमजोर बन्दै गएको छ। गलतलाई गलत भन्नेलाई “विद्रोही” देख्ने र चाकडी गर्नेलाई “निष्ठावान” ठान्ने प्रवृत्ति बढ्दो छ। यही कारणले इमानदार कार्यकर्ता निराश छन् भने अवसरवादीहरू निर्णायक स्थानमा पुगेका छन्।

म पार्टीभित्रको गलतलाई गलत भन्न डराउने मान्छे होइन। राम्रो काम भए खुलेर प्रशंसा गर्छु, तर गलतलाई लुकाएर अन्धभक्त बन्न सक्दिन। भित्र तिते करेला खाएर बाहिर जेरिको बखान गर्दै मुख मिठ्याउने राजनीति मेरो संस्कार होइन। जनतालाई भ्रम बेचेर राजनीति गर्ने दिन अब समाप्त हुँदैछन्।
आज जनता धेरै सचेत छन्। उनीहरूले पार्टीको झण्डा मात्र होइन, व्यवहार पनि हेर्न थालेका छन्।

कांग्रेस आज केवल विचार र नीतिबाट मात्र अलग भएको छैन, आफ्नै मतदाता र कार्यकर्ताको भावनाबाट पनि टाढिँदै गएको छ। हिजो घरघरमा कांग्रेसको पक्षमा बहस गर्ने कार्यकर्ता आज मौन छन्। किनकि जनताले सोध्ने प्रश्नको जवाफ उनीहरूसँग छैन। युवापुस्ताले विकल्प खोज्न थालिसकेको छ। पुराना समर्थकहरू समेत निराश देखिन्छन्।

सबैभन्दा ठूलो विडम्बना के छ भने, पार्टीका केही ठालुहरू अझै पनि जनताको धैर्यलाई कमजोरी ठानिरहेका छन्। उनीहरूलाई लागिरहेको छ— पुरानै अनुहार, पुरानै भाषण र पुरानै समीकरणले राजनीति चलिरहन्छ। तर समय बदलिएको छ। जनता अब इतिहासको नाममा मात्र भोट हाल्ने अवस्थामा छैनन्।

कांग्रेसले बुझ्नुपर्छ— लोकतन्त्रको इतिहास बोकेको पार्टी हुनु गौरवको कुरा हो, तर वर्तमानमा जनताको विश्वास गुमेपछि त्यो इतिहासले मात्र पार्टी बचाउन सक्दैन। जनताले सम्मान दिएका पार्टीहरू जनताले नै अस्वीकार गरेका उदाहरण संसारभर प्रशस्त छन्।

आज कांग्रेससामु गम्भीर प्रश्न उभिएको छ—

के पार्टी अझै आत्ममन्थन गर्न तयार छ?
के भदौ २३/२४ जस्ता घटनामा जवाफदेहिता स्वीकार गर्ने नैतिक साहस बाँकी छ?
के आलोचनालाई शत्रुता होइन, सुधारको अवसरका रूपमा लिन सकिन्छ?

यदि यी प्रश्नहरूको इमानदार उत्तर खोजिएन भने कांग्रेसको संकट अझ गहिरिनेछ।
अब पनि नसच्चिने हो भने कांग्रेसलाई विपक्षीले होइन, आफ्नै निराश कार्यकर्ता र विकल्प खोजिसकेका जनताले कमजोर बनाउनेछन्।
समय अझै बाँकी छ— निर्णय कांग्रेसकै हातमा छ, सचिने कि सकिने?

बेद प्रसाद घिमिरे

प्रतिक्रिया