
बेद प्रसाद घिमिरे
नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र बहुदलीय व्यवस्थाको स्थापनामा नेपाली कांग्रेसले ऐतिहासिक भूमिका खेलेको छ। तर इतिहासले मात्र कुनै पार्टीको भविष्य सुरक्षित गर्दैन। समय, जनअपेक्षा र राजनीतिक संस्कृतिअनुसार आफूलाई रूपान्तरण गर्न नसक्ने दलहरू विस्तारै जनताबाट टाढिँदै जान्छन्।
पछिल्ला वर्षहरूमा नेपाली कांग्रेसमाथि लागेको सबैभन्दा ठूलो आरोप भनेको पार्टीभित्र सीमित नेताहरूको वर्चस्व, अवसरवाद, गुटबन्दी र विचौलियाहरूको प्रभाव हो। सत्ता र संगठनको केन्द्रमा लामो समयदेखि एउटै पुस्ता हाबी हुँदा नयाँ पुस्ताका नेता तथा कार्यकर्ताको राजनीतिक विकास अवरुद्ध भएको गुनासो पार्टीभित्रैबाट उठ्दै आएको छ।
पूर्वसभापति शेरबहादुर देउवा, पूर्वउपसभापति पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, शेखर कोइराला लगायतका नेताहरूले दशकौँसम्म कांग्रेसको नेतृत्व तहमा रहेर काम गरेका छन्। उनीहरूको योगदानको मूल्याङ्कन इतिहासले गर्नेछ। तर आजको बहस योगदानको होइन, कांग्रेसको भविष्यको हो।
नयाँ पुस्ताका मतदाता पुराना राजनीतिक भाषणभन्दा परिणाम खोजिरहेका छन्। उनीहरू पारदर्शिता, सुशासन, रोजगारी, आर्थिक अवसर र प्रभावकारी नेतृत्व चाहन्छन्। यदि पार्टीले अझै पनि सीमित व्यक्तिहरूको वरिपरि राजनीति घुमाइरह्यो भने कांग्रेसले युवा पुस्ताको विश्वास गुमाउने जोखिम बढ्दै जानेछ।
गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे लगायत नयाँ पुस्ताका नेताहरूले पार्टीभित्र सुधार, पुस्तान्तरण र वैचारिक पुनर्जागरणको बहस अघि बढाइरहेका छन्। उनीहरूका सामु सबैभन्दा ठूलो चुनौती भनेको पुरानो संरचनालाई सम्मानपूर्वक व्यवस्थापन गर्दै नयाँ नेतृत्वको मार्ग प्रशस्त गर्नु हो।
राजनीतिमा कुनै पनि व्यक्ति स्थायी हुँदैन। समयअनुसार नेतृत्व परिवर्तन हुनु लोकतान्त्रिक अभ्यासको सामान्य प्रक्रिया हो। अनुभव आवश्यक हुन्छ, तर अनुभवका नाममा अनन्तकालसम्म नेतृत्वमा बसिरहने प्रवृत्तिले संगठनलाई गतिहीन बनाउँछ। कांग्रेसले आगामी निर्वाचनहरूमा प्रतिस्पर्धी बन्न चाहन्छ भने नयाँ पुस्तालाई निर्णय गर्ने ठाउँ दिनैपर्छ।
आज कांग्रेसभित्र उठेको पुस्तान्तरणको बहस कुनै व्यक्तिविरुद्धको अभियान होइन। यो पार्टीलाई भविष्यतर्फ लैजाने कि विगतको बोझमै अल्झाइराख्ने भन्ने प्रश्न हो। यदि कांग्रेसले जनताको बदलिँदो चाहना बुझेर संगठनात्मक र वैचारिक रूपान्तरण गर्न सकेन भने आगामी निर्वाचनहरूमा अझ कठिन चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले कांग्रेसका लागि अहिलेको मुख्य एजेन्डा व्यक्तिपूजा होइन, संस्थागत सुधार हुनुपर्छ; गुट होइन, संगठन हुनुपर्छ; र विगतको गौरव होइन, भविष्यको तयारी हुनुपर्छ। यही बाटोले मात्र कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रमा पुर्याउन सक्छ।
प्रतिक्रिया