निरा सुब्बा नेचाली द्वारा लिखित निकुञ्जराग पढेपछि

- भाष्कर मैनाली शर्मा दार्जिलिङ २०८३ जेठ २६ गते २१:५७ मा प्रकाशित



निरा सुब्बा नेचाली द्वारा लिखित कवितासङ्ग्रह निकुञ्जराग पुस्तक यसै वर्ष २०२६ मा पहिलो चोटी प्रकाशित भएको हो। जम्मा १४४ पृष्ठहरू र ६८ वटा कविताहरू भएको यस पुस्तक केही मझौला आकारको नै देखिन्छ।

निकुञ्जराग कवितासङ्ग्रह बारे कुरा गर्दा यस संग्रहभित्र विभिन्न प्रकारको कविताहरू पा इने गरिन्छ मात्रै एउटै विषय वस्तुमा समेटिएको कविताहरू यस सङ्ग्रहमा रहेको छैन। यस सङ्ग्रहमा राजनीतिक, सामाजिक, पर्यावरण माथी आधारित, जीवनमा आइपर्ने आरोह अवरोह र अन्य धेरै विषय वस्तुमा आधारित कविताहरू यस सङ्ग्रहमा पाइन्छ।

यस संग्रहको पहिलो कविता आमा पढ्दा आमाको वात्सल्य प्रेम बारे बुझ्न सकिन्छ। यस कविता पढ्दा आमाले एउटा घरको निम्ति उठाएको भार, आमाको त्याग बारे र आमा पछिको घर घर नै जस्तो नरहने र आमा घरमा नभएपछि आमाको रिक्तता कुनै पनि कुराले पुरिन नसकेको कुराहरूलाई केन्द्रित गरेर कविता लेखिएको छ

जुन दिन आमा अर्कै लोकको यात्रामा जान्छिन्
त्यो परिवारको सातो पनि सङ्गै लागेर जान्छिन्
आफू पछि कहिले नपुरिने
रिक्तता को गहिरो खाल्डो छोडेर,
आफ्नो माया ममता सबै आफन्त र समाजलाई सुम्पेर,
संसारै शून्य पारेर।।

यसरी नै अहिले भारतीय नेपाली भाषी गोर्खे समुदायहरू माथी विदेशीको लाञ्छना धेरै लाग्ने गर्दछ तर हामी नेपाली भाषी गोर्खे समुदाय भने खाँट्टी भारत देशलाई प्रेम गरेर युगौं अघि देखि यस भूमिमा बसोबास गर्दै आइरहेको छौ र भारत देश भनेपछि हामी आफ्नो देशको निम्ति प्राण पनि अर्पण गर्न पछि पर्दैनौ। यस संग्रहको “शून्य सृजित उर्बर भूमि भारत ” नामक कवितामा कविले भारत देशको महानता, विशालता र सौंदर्य बारे कविता लेखेका छन् यस कवितामा देशप्रेम स्पष्ट रूपमा झल्किने गर्छ र यो नेपाली कविता भारत देशको महिमा ले ओतप्रोत भएर लेखिएको कविता पढ्दा हामी सबै भारतीय हुनुमा गर्व लाग्छ, यदि यो कविता अन्य भाषा बोल्ने भारतका मानिसहरूले पढे उनीहरूलाई पनि हामी नेपाली भाषी गोर्खे समुदायहरुले पनि भारत देशलाई उत्तिकै माया गर्छौ जति उनीहरूले गर्दछ र हामी नेपाली भाषी समुदायहरू पटक्कै विदेशी होइन भनेर अवश्यै बोध गर्नेछ। संग्रहको “जेलमा जल्लाद छैन हरे ” कविता पढ्दा हाम्रो समाजमा यति धेरै अपराध बड़ेपनि त्यो अपराधी लाई सठीक सजाई पाउन नसकेको र दिन प्रतिदिन हाम्रो समाजमा अपराध बढ्दै गइरहेको कुरालाई विषय बनाएर कविता लेखिएको छ। हुन पनि हत्यारा, बलात्कारी र अन्य नराम्रो अपराध गर्ने मानिसहरू आजको दिनमा खुलेर गर्वसाथ हिँडिरहेको छ र जसले ती अपराधीहरू मार्फत धेरै प्रतड्ना भोगे उनीहरू न्याय को निम्ति घरी यता घरी उता घुमिरहेको छ, तड्पिरहेको छ।

बालिका वृद्घा कोही चौँदैन

खेल्दछ पासविक खेल

कतिसम्म लाचार नारीको जीवन

छ जल्लादबिनाको जेल

अहिले आएर दार्जिलिङ पहाडी भेगमा र यस सित संलग्न सिलिगुडी क्षेत्रहरूमा धेरै गोरखें हाटहरु स्थापित हुँदै गइरहेको छ। यहाँका मानिसहरूले ती हाटहरू मार्फत धेरै लाभ पाइरहेका छन्। अहिले दार्जिलिङ पहाडी भेगमा धेरै रोजगारको समस्या छ र त्यो रोजगारको समस्याहरूलाई गोर्खे हाट ले केही घटाउने कोशिश गरिरहेको छ।आफ्नो घर देखि टाढा गएर कार्य गर्नुभन्दा आफ्नै ठाउँमा आफ्नै सर सामानहरू बिक्री गरेर स्व निर्भर भएको असल हो। त्यही कुरालाई आधार बनाएर अनि गाेर्खें हाट मार्फत हाम्रो मानिसहरूले मेहेनत गर्दै आफ्नै ठाउँमा गरी खाएको कुरा देखेर कविलाई हर्षित लागेको र यही विषयलाई आधार बनाएर कविले यस सङ्ग्रहमा गोर्खे हाट नामक कविता लेखेका छन्।

यस सङ्ग्रहमा रहेको धेरै कविताहरू पढ्दा कविलाई प्रकृति प्रेम पनि धेरै रहेको बुझिन्छ। यस सङ्ग्रहमा रहेका कविताहरू जस्तै लाली गुराँस नामक कविताले हाम्रो दार्जिलिङ र यस क्षेत्रसित संलग्न रहेका वरी परीका पहाडहरू मा रातो गुराँस ढकमक्क फुल्ने गर्छ र रातो गुराँस यो हाम्रो पहाडको लागि फूल मात्रै होइन तर यस फूल मार्फत मदिरा पनि केही जाडो ठाउँहरुमा बनाइने गरिन्छ, केही ठाउँहरूमा यस फूल मार्फत ओखती बनाउनको निम्ति पनि प्रयोग गरिन्छ र सबै भन्दा ठूलो पहाडको सौन्दर्यको निम्ति यो फूल ढकमक्क फुल्दा मानिसहरूको मनमा एकप्रकाको खुसी र उमंग ल्याउन पनि प्रयोग गरिन्छ। यसैले गुराँस यो हामी पहाड वासीको निम्ति फूल मात्रै होइन गुराँस हाम्रो निम्ति भावना पनि हो।गुराँस पहाडमा छैन भने हाम्रो पहाड नै खल्लो भएर जाने गर्छ।यस सङ्गै यस संग्रहको ” सम्बोधन शिरीषलाई ” नामक कवितामा पनि शिरिष फूल लाई प्रतीकात्मक रूपमा सम्बोधन गरेर शिरिष फूल पनि ढकमक्क फुलेर वातावरणलाई अझ सुन्दर बनाएको होस् भनेर आशा साँचेका छन्। यसरी रातो गुराँस र शिरीषलाई सम्बोधन नामक दुई वटा कविताहरू यस सङ्ग्रहमा पढ्दा कवि पहाडको फूलहरू प्रति धेरै आकर्षित रहेको हामी बुझ्न सक्छौ।

यस संग्रहको “कवि माटो र घाम” र “माटो र कवि” नामक कविताहरूमा कविले प्रकिती सित कविता लाई जोड्न खोजेका छन्। माली र कवि नामक कवितामा कविता चाहिं फूल भन्दा स्वतन्त्र छ र कविले कविता लेख्दा र एउटा मालीले फूल स्यारेको प्रसंग लाई आधार बनाएर कविता लेखिएको छ। जसरी मालीले स्यारेको फूल लाई धेरै कुराहरु बाट जोगाउँदा पनि केही हदसम्म त्यो जोगिन सकेको हुँदैन र त्यो मालीले स्यारेकाे फूलको मालिक माली नै हुन्छ भन्ने पनि हुँदैन। त्यसको मालिक अर्कै हुनपनि सक्छ र त्यो मालीले फुलाएको फूल कुनै दिन ओईलिएर जान सक्छ चुँडिएर जान सक्छ तर कविले लेखेको कविता कहिले ओईलीएर जान सक्दैन, त्यो कविता लेख्ने कविको पछि पनि त्यो कविता अमर नै रहिरहन्छ र कविको कविताको अर्को कुनै मालिक हुँदैन तर कविता लेख्ने कवि नै सदैव त्यस कविताको मालिक भएर बसेको हुन्छ। यस कविता पढ्दा हामीलाई कवितालाई फूल भन्दा स्वतन्त्र र बलियो रहेको कुरा बोध हुने गर्दछ।


यस संग्रहको कवि माटो र घाम कवितामा कविले माटो भनेको मात्रै माटो हुँदैन तर माटो भनेको त हाम्रो चिनारी पनि हुनेगर्दछ र १९८६ को गोर्खाल्याण्डको भयावह र हिंसात्मक आंदोलन लाई पनि उल्लेख गर्दै उनले कविता लेखेका छन्। हाम्रो समुदायले धेरै संघर्ष गरेपछि पनि हाम्रो माग पूरा नभएको कुरा यहाँ यस कवितामा उल्लेख गरेका छन्।

यस संग्रहको हरित स्नान र निकुञ्जराग नामक कविताहरूमा कविले बन जंगल को सौन्दर्यलाई प्रस्तुत गरेका छन् र अहिलेको पर्यावरण संरक्षण माथी पनि आफ्नो कविता मार्फत संदेश दिएका छन्।यस सङ्गै यस कवितासंग्रहको शीर्षक निकुञ्जराग यो यस संग्रहको शीर्षक मात्रै होइन तर यस संग्रह भित्र निकुञ्जराग नामक कविता पनि रहेको छ। यस कवितामा पनि कविले प्रकृतिको सौन्दर्यता बारे कविता लेखेका छन्। एउटा निकुञ्ज जहाँ धेरै वन र जङ्गलहरू अटाएको हुन्छ त्यो हामी सम्पूर्ण मानव जातिको निम्ति एउटा स्रोत हो, अहिलेको जल्दो बल्दो समस्या ग्लोबल वार्मिङ धेरै वन र जङ्गलको विनास ले गर्दा भएको कुराको बोध हामीलाई हुन्छ र निकुञ्जको हामीले संरक्षण गरे हामीलाई नै लाभ हुने र पर्यावरणको पनि संरक्षण हुने कुरा यहाँ कविले गरेका छन्

अन्तमा निकटवर्ती धरा नै
मानव जगतको प्राण हो,
विशुद्ध हरियो परियो अरन्य नै
धर्तीको त्रान हो।
धरा हितैषी सबैले समयमा नै जनौं
धरती सबैको माता सबैले मानौं।।

यस सङ्ग्रहमा नारीवाद माथि आधारित कविताहरू पनि लेखिएको छ यस संग्रहको नारीलाई सम्बोधन नामक कवितामा कविले नारीको त्याग नारीको बलिदान बारे कविता लेखेका छन्, नारीको त्याग नारीको बलिदान हुँदा हुँदै पनि कहीं ठाउँमा मात्रै सजाउने वस्तुको रूपमा हाम्रो समाजले नारीलाई हेर्ने गर्छन्, मात्रै भोग र विलास को वस्तुको रूपमा हाम्रो समाजमा नारीलाई हेर्ने गरिन्छ। तर नारीको इज्जत हुन्छ त्यही ठाउँ नै स्वर्ग रहेको र जहाँ नारी को इज्जत हुँदैन त्यही ठाउँ नै नर्क रहेको कुरा यस कविता मार्फत लेखेका छन्। यस संग्रहको जेलमा जल्लाद छैन हरे नामक कवितामा पनि नारीवाद को झलक पाइने गरिन्छ,यस सङ्गै यस संग्रहको पहिलो कविता आमा र यस संग्रहको अन्तिम कविता आमा अनि आकाश यी कविताहरूमा पनि नारीवाद को चेतना पाइन्छ। आमा अनि आकाश कवितामा कविले आमा यस संसारमा नभएपछि आमाको मुख हेर्ने दिनको महत्व अझ बुझेको कुराको उल्लेख गरेका छन्। यस सङ्ग्रहमा कविले आमालाई आकाश सित दाजेका छन् आकासबाट पानी जसरी कोही बेला तपकन्छ त कोही बेला बर्सिन्छ त्यसरी नै आमा पनि छाेरा छोरीको खुसीमा आकाश झै खुसीले बर्सिन्छ र छाेरा छोरी दुखी हुँदा आकाश झै आमा पनि मन दुखाएर तपकिन्छ। यसमा कविले आमाको खुसी छाेरा छोरीको खुसीमा रहेको कुरा आफ्नो कविता मार्फत व्यक्त गरेका छन्।

आमा अनि आकाश उस्तै उस्तैसन्तानको खुसीमा बर्सिदिने
छाेरा छोरीको दुःखमा तपकिदिने
हेरीरहन्छ नृत्य झुकेर धरितिर
आफूले नचाहँदा नचाहँदै साथ छोडेर
अर्कै लोकको यात्रा बन्न पुगेको

यस सङ्ग्रहमा रहेका धेरै कविताहरू नैतिक र औपदेशिक पनि रहेका छन् यस सङ्ग्रहमा रहेको मरेपछि, भोक, रोलिंग स्टोन, अपूर्ण मान्छे, आशा नगर्नु इतियादि जस्ता कविताहरू नैतिक र औपदेशीक रहेको छ।

यस सङ्गै अमर मृत्यु सहिदको कवितामा कविले सहिद बारे कविता लेखेका छन्। हाम्रो दार्जीलिंग पहाडी क्षेत्रमा बसोबास गर्ने नेपाली गोरखा समुदायहरू का धेरै सैनिकमा जाने गर्छौ त्यहाँ जाँदा धेरै हाम्रो समुदायका मानिसहरू सहिद बनेर उ आफू नआए पनि उसको शरीर उसको घर आइपुग्छ र यस कवितामा कविले एउटा सहिदको वेदना बारे मार्मिक कविता लेखेका छन्।

केवल शरीर मात्रै सयपत्रीले सजिएर घर आयो,

अदृश्य सहिदको आत्माले कतिसम्म आफ्नो घर धायो
अन्त्यमा कहा उसले वास पायो

यस संग्रहको मातृभाषा, गोर्खेहाट, जात जात अनि जाती नामक कविताहरूमा जातीय भावना, भाषा प्रेम जस्ता प्रसंग आउने गर्छ। हाम्रो समुदाय लाई आफ्नो जाती भन्दा जात प्यारो भएको र यही जात प्यारो हुने भएको हुनाले हाम्रो जातीयता संकटमा परेको कुराको उल्लेख उनले यस कवितामा गरेका छन्।



जात र थरी खोज्दा खोज्दै
जाति नै बिरानो भइसक्यो
अबेर हुँदैछ, अबेर हुँदैछ,

पानी टाउको बाट माथी गइसक्यो,
पानी टाउको माथिबाट गइसक्यो।।

यस संग्रहको साइरन, सुइरो र सुस्केराहरु र चियाबारी र अन्तरे नामक तीनवटा कविताहरू हाम्रो दार्जिलिङ पहाडको चियाबारी र चियाबारी समस्यामा आधारित कविताहरू रहेको छ। लेखिका पनि दार्जिलिङ पहाडी भेगको बासिन्दा भएको हुनाले र दार्जीलिङ पहाडी भेगमा धेरै चियाबारीहरु रहेको हुनाले चियाबारीमा कस्तो समस्याहरू रहेको छ त्यो कुरा उनले धेरै मज्जाले बुझेको हुनाले नै यस कविता संग्रहमा पनि एकदमै मज्जाले उनले चियाबारी समस्याबारे कविता लेखेका छन्।

मेरो जीवन त फिक्का चिया झै छ यहाँ
म जाबो चिया श्रमिक,
मेरो भाग्य नै भिरालो छ चियाबारी जस्तो।।

यस सङ्ग्रहमा अन्य धेरै पठन्योग्य कविताहरू पनि छन् जसले मानिसलाई धेरै कुराहरुको बोध गराउने गर्छ कहीं दार्जीलिङको पर्यटकीय स्थललाई केन्द्रित गरेर लेखिएको कविता छ त कहीं साहित्यिक सृजना सम्बंधित कविताहरू पनि यस सङ्ग्रहमा लेखिएको

समग्रमा भन्नुपर्दा, निरा सुब्बा नेचालीद्वारा लिखित निकुञ्जराग कवितासङ्ग्रह विविध विषयवस्तुले भरिपूर्ण एक उत्कृष्ट काव्यकृति हो। यस सङ्ग्रहमा आमा र मातृत्वको महत्त्व, नारी चेतना, प्रकृति प्रेम, पर्यावरण संरक्षण, देशप्रेम, जातीय अस्तित्व, मातृभाषा प्रेम, चियाबारीका श्रमिकहरूको जीवन, सामाजिक विकृति, नैतिक शिक्षा तथा मानवीय संवेदनाका अनेकौं पक्षहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। कविले आफ्ना वरिपरिका समाज, संस्कृति, प्रकृति र समयका यथार्थ घटनाहरूलाई सूक्ष्म दृष्टिले नियालेर कवितामार्फत अभिव्यक्त गरेकी छन्।

यस सङ्ग्रहका कविताहरू पढ्दा कवि केवल भावनाका सर्जक मात्र नभई समाजप्रति उत्तरदायी सचेत नागरिक पनि हुन् भन्ने अनुभूति हुन्छ। उनले कतै प्रकृतिको हरियाली र सौन्दर्यको गुणगान गरेकी छन् भने कतै सामाजिक अन्याय, अपराध, जातीय विभाजन, बेरोजगारी तथा नारीमाथिका विभेदप्रति चिन्ता व्यक्त गरेकी छन्। उनका कविताहरूले पाठकलाई केवल मनोरञ्जन मात्र प्रदान गर्दैनन्, बरु सोच्न, आत्ममूल्याङ्कन गर्न र समाजप्रति जिम्मेवार बन्न पनि प्रेरित गर्छन्।

विशेषतः पर्यावरणसम्बन्धी कविताहरूले वर्तमान विश्वले सामना गरिरहेको जलवायु परिवर्तन र वन विनाशको समस्याप्रति सचेत गराउँछन् भने देशप्रेम र जातीय पहिचानसम्बन्धी कविताहरूले भारतीय नेपालीभाषी गोर्खा समुदायको इतिहास, योगदान र अस्तित्वबोधलाई सशक्त रूपमा उजागर गरेका छन्। नारीवादी कविताहरूले आमाको ममता, नारीको त्याग, संघर्ष र सम्मानको आवश्यकतालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्।

भाषागत दृष्टिले पनि कविताहरू सरल, भावपूर्ण र सहज बोधगम्य छन्। प्रतीक, बिम्ब र भावनाको सुन्दर प्रयोगले कविताहरूलाई थप प्रभावशाली बनाएको छ। यस सङ्ग्रहका धेरै कविताहरूले पाठकको मन छुने सामर्थ्य राख्छन् भने केही कविताहरूले सामाजिक चेतना जगाउने कार्य पनि गरेका छन्।

त्यसैले निकुञ्जराग केवल कविताहरूको सङ्ग्रह मात्र नभई प्रकृति, समाज, संस्कृति, मानवीय संवेदना र जीवनदर्शनको सुन्दर समिश्रण भएको कृति हो। नेपाली साहित्यप्रेमी पाठकहरूले एकपटक अवश्य पढ्नुपर्ने यस कृतिले पाठकलाई भावनात्मक, बौद्धिक र नैतिक रूपमा समृद्ध बनाउने विश्वास गर्न सकिन्छ। कवयित्री निरा सुब्बा नेचालीको यो काव्यकृतिले नेपाली साहित्यमा आफ्नो छुट्टै स्थान बनाउन सफल हुने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया