
२७ जेठ हेटौंडा
हेटौंडाको सकृय साहित्यिक संस्था साहित्य संगमको आयोजनामा अमेरिकालाई कर्मभूमि बनाएका बहुबिधाका सकृय लेखक गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको दोश्रो संग्रह “अ-विधवा” को परिचर्चा तथा सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आर पि गुरागाईं तथा सुबास सजलले “अ-विधवा” कथा संग्रहमाथि पाठकीय धारणा प्रस्तुत गरे । लामो कथा पठन अनुभूति प्रस्तुत गर्दै कथामा यौन मनोविज्ञान र नेपाल तथा अमेरिकाको पृष्ठभूमि आएको बताए ।

त्यसपछि कथाकार प्रेरणासँग कवि तथा समीक्षक निमेष निखिलले सम्बाद गरेका थिए । निखिलको “ कथा लामो कथा तथा उपन्यास बीचको भिन्नता” तथा “ प्रायसः कथामा देखा पर्ने यौन मनोविज्ञान” का बारेमा प्रश्न गरेका थिए । कथाकार प्रेरणाले लामो कथाबारे आफ्नो धारणा प्रस्तुत गर्दै यौन मनोविज्ञान कथामा खोलको रूपमा आउनै तथा कथाको अन्तर्यमा जानुपर्ने बताए ।

त्यसअघि साहित्यकार उदय अधिकारीले गोविन्द गिरी प्रेरणासँग लिएको अन्तर्वार्ताको पुस्तक “प्रेरणा वार्ता” को विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि आर.सि. रिजाल, साहित्य संगन मकवानपुरका अध्यज्क्ष डिवि बर्तौला तथा मञ्चासिन अतिथिहरूले सो पुस्तकको विमोचन गरेका थिए ।

विमोचनपश्चात अन्तर्वार्ताकार उदय अधिकारीले साहित्यकार प्रेरणाको लेखनका विविध आयाम र लोभलाग्दो सकृयताले प्रभावित भएर यो अन्तर्वार्ता कृति तयार पारेको बताए ।
प्रमुख अतिथि आर.सि. रिजालले गोविन्द गिरी प्रेरणा हेटौंडाको प्रतिभा भन्न पाउँदा गर्व लाग्ने बताए ।

सो अवसरमा साहित्यकार प्रेरणालाई सम्मान पत्र तथा संस्थाको आजिवन प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष डि.बि. बर्तौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको शुरूमा संगमका उपाध्यक्ष मनोज पोखरेलले स्वागत भाषण गरेका थिए भने सहसचिव भवानी तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् !


प्रतिक्रिया