लघुकथा

तपाईँका बिरामीलाई सशुल्क वा नि:शुल्क कुन कोटामा राख्नुहुन्छ ॽ” अस्पतालको भर्ना काउन्टरका कर्मचारीले भने । नि:शुल्क नि युवतीले जवाफ दिइन् ।
नि:शुल्क कोटामा बस्नका लागि त वडा कार्यालयबाट विपन्नताको सिफारिस लिएर आउनुपर्छ । ल्याउनुभएको छ ॽ
ल्याएकी छु । दिनोस् त ।
युवतीले वडाले दिएको सिफारिस पेस गरिन् ।
कर्मचारीले भने, बहिनी ! हाम्रो अस्पताल सेवामूलक हो, यसले नाफा कमाउँदैन ।
यो कुरा मलाई किन सुनाउनुभएको हो ॽ सेवामूलक र नाफासँग मलाई के सरोकार छ र !युवतीले अलि च्याँठ्ठिँदै भनिन् । कर्मचारीले नम्र भाषामा भने, बहिनी ! हाम्रो अस्पतालमा नि:शुल्क कोटामा सेवा लिनेका लागि केही सर्त र प्रावधान छन् । ती तपाईँले स्वीकार्नुपर्छ ।
भैहाल्छ नि । सर्त के के हुन् ॽ युवतीले झिँजो मान्दै सोधिन् ।’
कर्मचारीले सम्झाए, हामी नि:शुल्क कोटाका बिरामीका कुरुवालाई यहाँ बसुन्जेल एउटा छोटो तालिम दिएर काममा लगाउँछौँ । काम गरेबापत दैनिक पाँच सय रुपैयाँ दिइन्छ । त्यसको आधा रकम कुरुवालाई खर्चका लागि दिइन्छ भने बाँकी आधा अस्पतालको बचत खातामा जम्मा हुन्छ । बिरामी डिस्चार्ज हुँदा उक्त रकम एकमुष्ठ फिर्ता गरिन्छ ताकि घर फर्कने बेला यातायात र पोषिलो खानाका लागि खर्च अभाव नहोस् ।
अस्पतालको यो नीति सुनेपछि युवती बिरामीलाई लिएर वार्डतिर लागिन् ।
अस्पतालले नि:शुल्क कोटाका कुरुवाका लागि तालिम सुरु गर्यो । तर, एक हप्ता बितिसक्दा पनि ती युवती तालिममा आइनन् । अन्ततः काउन्टरका तिनै कर्मचारी उनलाई खोज्दै वार्डमै पुगे ।
कर्मचारीले उनलाई तालिममा सहभागी हुन आग्रह गरे । बेडको छेउमा बसेर ब्रान्ड न्यू आइफोन प्रोम्याक्स सिक्स्टिन चलाइरहेकी ती युवतीले सिधै इन्कार गरिन्, मलाई त्यो तालिम सालिममा जान जाँगर छैन ।
युवतीको गैरजिम्मेवार व्यवहार देखेपछि कर्मचारी अलि कडा रूपमा प्रस्तुत भए, बहिनी ! सुविधा चाहिँ नि:शुल्क चाहिने, तर अस्पतालको नियम नमान्ने ? तालिममा आउनुहुन्न भने हामी यो बेडलाई सशुल्क कोटामा परिणत गर्न बाध्य हुनेछौँ । कि तालिममा आउनुस्, कि पैसा तिर्न तयार हुनुस् ।
कर्मचारीको कडा कुरा सुनेपछि युवतीले आफ्नो महँगो आइफोन पाइन्टको खल्तीमा हाल्दै झर्किइन्, तपाईँले त ज्यादै नै गर्नुभयो ! बरु सशुल्क कोटैमा सारिदिनुस् । म तालिम लिन सक्दिनँ ।
प्रतिक्रिया