
अमेरिकी सरकारले नियम मिचेर नागरिकता लिने विदेशीहरू विरुद्ध कडा कदम चाल्न सुरु गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता, सरकारले धेरै मानिसहरूको अमेरिकी नागरिकता खारेज गर्न अदालतमा मुद्दा दर्ता गरेको छ। यो सङ्ख्या अघिल्लो जो बाइडेन सरकारको पूरा चार वर्षको कार्यकाल भन्दा पनि धेरै हो।
अमेरिकी न्याय बिभागका अनुसार, ट्रम्प प्रशासनले अहिलेसम्म ५२ वटा यस्ता मुद्दा दर्ता गरिसकेको छ, जबकि बाइडेनको चार वर्षमा मात्र २४ वटा यस्ता मुद्दा परेका थिए। गत सोमबार ट्रम्प सरकारले गम्भीर अपराध (जस्तै यौन अपराध र लागुऔषध तस्करी) मा दोषी ठहरिएका १७ जनाको अमेरिकी नागरिकता खोस्ने प्रक्रिया अगाडि बढाएको छ।
नागरिकता पाइसकेका मानिसहरूले अपराध गरेमा उनीहरूको नागरिकता खोसिन सक्छ भनि ट्रम्प सरकारले पहिले नै चेतावनी दिएको थियो । अमेरिकामा जन्मेर नागरिकता नपाएका, बरु पछि प्रक्रिया पूरा गरेर नागरिकता लिएका मानिसहरूले यदि आफ्नो पुरानो अपराध लुकाएर सरकारलाई ढाँटेको प्रमाणित भएमा मात्र नागरिकता खोस्न मिल्छ। यसका लागि सरकारले अदालतमा बलियो प्रमाण पेस गर्नुपर्छ।

अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भनेका छन्, “अमेरिकी नागरिकता पाउनु एक ठूलो अवसर र सम्मान हो। अपराधीहरूले झुट बोलेर यसको दुरुपयोग गर्न पाउँदैनन्। ट्रम्प सरकारले यस्ता ठग र अपराधीहरूलाई कडा सजाय दिनेछ।”
त्यस्तै, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मुलिनले पनि थपे, “यदि तपाई अमेरिका आएर यहाँको कानुन तोड्नुहुन्छ र नागरिकता लिँदा झुट बोल्नुहुन्छ भने, तपाईले नागरिकताको अधिकार गुमाउनुहुनेछ।”
यो नयाँ नियमले अमेरिकामा बसोबास गरिरहेका र नयाँ नागरिकता लिन चाहने आप्रवासीहरूमाझ डर र हलचल पैदा गरेको छ। अब अमेरिकामा इमानदार भई नियम पालना गर्नेहरूले मात्र नागरिकता जोगाउन सक्नेछन्।
प्रतिक्रिया