क्युबा नजिकै ६.१ परिमाणको शक्तिशाली भूकम्प: अमेरिकाको फ्लोरिडासम्म हल्लियो जमिन

सुनामीको खतरा टर्यो : क्युबा र फ्लोरिडा दुवै सुरक्षित

इनेप्लिज २०८३ जेठ २६ गते १:११ मा प्रकाशित

क्युबा देशको नजिकै समुन्द्रमा ६.१ रेक्टर स्केल अर्थात् परिमाणको एक शक्तिशाली भूकम्प महसुस गरिएको छ। यो भूकम्प क्युबाको जमिनभन्दा झण्डै ११८ किलोमिटर टाढा समुद्रभित्र (खाडी क्षेत्रमा) गएको हो। भूकम्पको ठूलो धक्का क्युबामा मात्र नभएर अमेरिकाको फ्लोरिडा राज्यका धेरै ठाउँहरूमा समेत प्रस्टसँग महसुस गरिएको थियो।

मौसम सम्बन्धी जानकारी दिने अमेरिकी निकाय (एनडब्लुएस ) का अनुसार सुरुमा यस भूकम्पलाई ६.४ रेक्टर स्केल(मापन)को भनिएको भए पनि पछि यो ६.१ रेक्टर स्केल(मापन)को भएको पुष्टि भयो। भूकम्पका कारण फ्लोरिडाको प्रसिद्ध शहर मियामीमा मानिसहरू निकै डरले अत्तालिएका थिए।

जमिन हल्लिएपछि आत्तिएका सर्वसाधारणहरूले मद्दतका लागि शहरका आपत्कालीन कार्यालयहरूमा धेरै सम्पर्कहरू गरेका थिए। एबिसीन्यूजका अनुसार तर, क्युबा र अमेरिका दुवै ठाउँमा अहिलेसम्म कुनै ठूलो धनजनको क्षति वा कोही घाइते भएको खबर आएको छैन। क्युबाका सरकारी सञ्चार माध्यमहरूले आफ्ना विभिन्न क्षेत्रहरूबाट क्षतिको थप विवरणहरू संकलन गरिरहेका छन्।

भूकम्प समुद्रमा गएकाले धेरैलाई ‘सुनामी’ आउने हो कि भन्ने ठूलो डर थियो। तर मौसम विभागले अमेरिका र वरपरका क्षेत्रमा सुनामीको कुनै पनि खतरा नरहेको कुरा स्पष्ट पारेको छ, जसले गर्दा त्यहाँका नागरिकहरूले राहतको सास फेरेका छन्।

प्रतिक्रिया