झूट बोलेर नागरिकता लिनेहरू संकटमा: अमेरिकाले १७ जनाको नागरिकता रद्द गर्दै

इनेप्लिज २०८३ जेठ २५ गते १६:५० मा प्रकाशित

 

वासिङ्टन डीसी। अमेरिकामा ट्रम्प सरकारले एउटा ठूलो र नयाँ नियम लागू गर्न लागेको छ, जसले धेरै मानिसहरूमाझ हलचल पैदा गरेको छ। 

सिविएसन्यूजका अनुसार सरकारले झूटो विवरण बुझाएर वा अपराध लुकाएर अमेरिकी नागरिकता लिएका १७ जना विदेशी मूलका नागरिकहरूको नागरिकता रद्द गर्ने तयारी गरेको छ।

 यो अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो ‘नागरिकता खारेजी’ अभियान बन्न जाँदैछ। अमेरिकी न्याय बिभागले औपचारिक रूपमा घोषणा गर्नुअघि नै ‘सीबीएस न्यूज’ ले यसको खुलासा गरेको हो।

विगतका वर्षहरूमा अमेरिकाले कसैको नागरिकता खोस्ने काम एकदमै कम मात्र गर्थ्यो। सन् १९९० देखि २०१७ सम्मको तथ्यांक हेर्ने हो भने सरकारले वर्षमा सरदर ११ जनाको मात्र नागरिकता खारेज गर्थ्यो। तर, राष्ट्रपति ट्रम्पले गत वर्ष ह्वाइट हाउस सम्हालेपछि नियमहरू निकै कडा बनाउँदै लगेका छन्।

अमेरिकी कानुनअनुसार, यदि कुनै विदेशीले नागरिकता लिने बेला आफ्नो आपराधिक इतिहास लुकाएको छ वा झूटो कागजपत्र पेस गरेको छ भने सरकारले अदालतको माध्यमबाट उसको नागरिकता खोस्न सक्छ। 

यो प्रक्रिया निकै लामो र झन्झटिलो हुने गर्छ। तर ट्रम्प प्रशासनले यसलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ। सन् २०२५ मा नै न्याय बिभागले कुन-कुन अवस्थामा नागरिकता खोस्न सकिन्छ भन्ने नियमहरू थप कडा बनाएको थियो।

अहिले निसानामा परेका १७ जना व्यक्तिहरूमा गम्भीर र हिंसात्मक अपराधमा संलग्न भएकाहरू छन्। 

तीमध्ये कोही बालबालिकामाथि यौन शोषण गर्ने, कोही ठगी धन्दा चलाउने त कोही अध्यागमनको नियम मिच्नेहरू छन्। सरकारले अदालतमा दायर गरेको उजुरीअनुसार, यी व्यक्तिहरूले नागरिकताको आवेदन पत्र(फारम )भर्दा आफ्नो खराब आचरण र अपराध लुकाएका थिए, जुन अमेरिकी नागरिक बन्नका लागि आवश्यक ‘असल नैतिक चरित्र’ को नियमविपरीत हो।

नागरिकता खोसिन लागेकाहरूमा हैटी, मेक्सिको, फिलिपिन्स, कोलम्बिया र भूतपूर्व युगोस्लाभियाबाट आएर अमेरिका बसेका मानिसहरू छन्। यस्मा नेपालीहरु परेका छैनन् ।

यो अभियानले झूटो बाटो रोजेर नागरिकता लिनेहरूलाई ठूलो धक्का दिने निश्चित छ। यो कडा कदम अमेरिकी अदालतहरूमा चाँडै नै पूर्ण रूपमा अगाडि बढ्दैछ।

प्रतिक्रिया