तामिलनाडुका मुख्यमन्त्री विजयद्वारा भारतीय बुद्धिचालखेलाडी प्रग्नानन्दलाई ५० लाख रुपैयाँ पुरस्कार

इनेप्लिज २०८३ जेठ २५ गते ११:२८ मा प्रकाशित

भारतीय चेस (बुद्धिचाल) का युवा खेलाडी आर. प्रग्नानन्दले नर्वेमा भएको प्रतिष्ठित ‘नर्वे चेस २०२६’ प्रतियोगिताको उपाधि जितेर इतिहास रचेका छन्। यो ठूलो सफलतापछि उनको गृहराज्य तामिलनाडुका नवनियुक्त मुख्यमन्त्री जोसेफ विजयले उनलाई भेटेर बधाई दिएका छन्। मुख्यमन्त्री विजयले तामिलनाडु खेलकुद विकास प्राधिकरणको तर्फबाट प्रग्नानन्दलाई ५० लाख भारतीय रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरेका छन्।

यो प्रतियोगितामा २० वर्षीय प्रग्नानन्दले संसारकै सबैभन्दा उत्कृष्ट मानिने खेलाडी म्याग्नस कार्लसनलाई दुई पटकसम्म हराएर सबैलाई अचम्ममा पारेका थिए। खेलको अन्तिम चरणमा निकै दबाबका बीच जर्मनीका खेलाडी भिन्सेन्ट केयमरलाई पराजित गर्दै उनी च्याम्पियन बन्न सफल भएका हुन्।

यस्तो कडा प्रतिस्पर्धामा लगातार चार खेल जितेर प्रग्नानन्दले उपाधि आफ्नो नाममा गरेका हुन्। उनको यो जितलाई विश्वभरका बुद्धिचाल (चेस) प्रेमीहरूले निकै प्रशंसा गरेका छन्।

प्रग्नानन्दको यो असाधारण विजयले भारत र उनको गृहराज्य तामिलनाडुको शिर गर्वले उच्च बनाएको छ। मुख्यमन्त्री विजयले युवा खेलाडीको यस्तो ठूलो उपलब्धिले देशका अन्य साना बालबालिका र युवाहरूलाई पनि खेलकुदमा अगाडि बढ्न ठूलो प्रेरणा मिल्ने बताएका छन्।

राज्य सरकारले भविष्यमा पनि प्रग्नानन्द जस्ता प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन र सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया