ट्रम्पको कडा चेतावनी – “इरान र इजरायलले तुरुन्त गोलीबारी बन्द गरून्”

इनेप्लिज २०८३ जेठ २५ गते १०:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई एकअर्कामाथि भइरहेका आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल ट्रुथ सोसलमा छोटो सन्देश लेख्दै ट्रम्पले दुवै देशलाई “तुरुन्त गोली हानाहान बन्द गर्न” चेतावनी दिएका हुन्।

ट्रम्पको यो टिप्पणी इरान र इजरायलबीच लगातार क्षेप्यास्त्र तथा हवाई आक्रमण भइरहेका बेला आएको हो। पछिल्ला केही दिनदेखि दुवै देशले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा हमला गरिरहेका छन्, जसले मध्यपूर्व क्षेत्रमा युद्धको खतरा बढाएको छ।

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार इरानले फेरि इजरायलतर्फ नयाँ क्षेप्यास्त्र (मिसाइल) आक्रमण गरेको छ। क्षेप्यास्त्र प्रहारको संकेत पाएपछि इजरायलले आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो। साथै प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिइएको थियो।

इरानको यो क्षेप्यास्त्र(मिसाइल) प्रहार हुनुभन्दा केही समयअघि इजरायलले पश्चिमी र मध्य इरानका विभिन्न लक्ष्यहरूमा हवाई हमला गरेको पुष्टि गरेको थियो।

आईडीएफले इरानको दक्षिणपश्चिम क्षेत्रमा रहेको माहशहर पेट्रोकेमिकल कम्प्लेक्स(तेल रसायन भवन)का केही लक्ष्यहरूमा पनि आक्रमण गरेको जनाएको छ। इजरायलका अनुसार उक्त कारबाही इरानको रणनीतिक रक्षा क्षमतालाई कमजोर पार्ने उद्देश्यले गरिएको हो।

इजरायली सेनाले आफ्नो पछिल्लो ठूलो सैन्य अभियानमा इरानका रणनीतिक रक्षा प्रणालीहरूलाई निशाना बनाएको दाबी गरेको छ। इजरायलका अनुसार इरानले “अपरेशन रोअरिङ लायन” पछि कमजोर बनेका आफ्नो रक्षा संरचनालाई पुनः सक्रिय बनाउन विभिन्न स्थानमा नयाँ रक्षा प्रणाली तैनाथ गरेको थियो। तर हालको आक्रमणले ती संरचनाहरू नष्ट भएको दाबी गरिएको छ।

यसबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न आग्रह गरिरहेको छ।

प्रतिक्रिया