
न्यूयोर्कमा आज जुन ८ सोमबार हुने एनबीए अन्तिम खेल (फाइनल)को तेस्रो खेल केवल खेलकुदका कारण मात्र चर्चामा छैन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नगर प्रमुख (मेयर )जोहरान मम्दानीको उपस्थितिले पनि यस खेललाई विशेष बनाएको छ।
न्यूयोर्क निक्स र यसका समर्थकहरूका लागि यो ऐतिहासिक अवसर हो। म्याडिसन स्क्वायर गार्डेन(रङ्गशाला )मा हुने खेलमा राष्ट्रपति ट्रम्प र नगर प्रमुख मम्दानी दुवैले निक्सलाई समर्थन गर्न उपस्थित हुने बताएका छन्। यद्यपि मम्दानीले आफू राष्ट्रपति ट्रम्पसँग नबस्ने स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पले टोलीका मालिक जिम डोलनको निमन्त्रणामा खेल हेर्न जाने बताएका छन्। उनले निक्सको प्रशंसा गर्दै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको र मालिक डोलनले सफल टोली बनाउन धेरै मेहनत गरेको बताए।
सुरक्षा कारणले ट्रम्प कोर्टसाइड अर्थात् खेल मैदानको छेउमा बस्ने सम्भावना कम रहेको बताइएको छ। एबिसीन्यूजका अनुसार उनी कहाँ बस्नेछन् भन्ने विषय सार्वजनिक गरिएको छैन।
उता मम्दानीले आफ्नो टिकट आफैंले खरिद गरेको बताएका छन्। उनले आफू महँगो सिट वा विशेष कक्षमा नभई सामान्य दर्शक क्षेत्रबाट खेल हेर्ने बताए। उनले यसअघि पनि निक्सको खेल सामान्य दर्शकसँगै बसेर हेरेका थिए।

मम्दानी र ट्रम्पबीच राजनीतिक मतभेद रहँदै आएको छ। मम्दानी ले ट्रम्प प्रशासनका आप्रवासन नीति, सरकारी खर्च कटौती र विभिन्न नीतिहरूको आलोचना गर्दै आएका छन्। अर्कोतर्फ, ट्रम्पले नागार प्रमुखको चुनावका बेला मम्दानीको कडा आलोचना गरेका थिए।
तर पछिल्ला महिनाहरूमा दुवै नेताबीच सम्बन्ध केही सौहार्दपूर्ण बनेको देखिएको छ। उनीहरू ह्वाइट हाउसमा भेटिसकेका छन् र न्यूयोर्क शहरसँग सम्बन्धित विषयमा दूरवार्ता (फोन )संवाद पनि गर्दै आएका छन्।
यसबीच न्यूयोर्क प्रहरी विभागले एनबीए अन्तिम खेल (फाइनल)का क्रममा कुनै पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएको जनाएको छ। हजारौं समर्थकले भरिने म्याडिसन स्क्वायर गार्डेन(रङ्गशाला )मा सुरक्षा व्यवस्था कडा पारिएको छ।

एनबीए फाइनल अर्थात् निर्णायक खेल भनेको अमेरिकाको नेसनल बास्केटबल एसोसिएसनको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण बिजेता प्रतियोगिता हो। यसमा एनबीएका दुई उत्कृष्ट टोली पूर्वी र पश्चिमीका विजेता बीच प्रतिस्पर्धा हुन्छ।
यो “बेस्ट अफ सेभेन” अर्थात् उत्तम ७ श्रृंखलाको हुन्छ, अर्थात् जुन टोलीले पहिले ४ खेल जित्छ, त्यही टोली एनबीए बिजेता बन्छ।
एनबीए अन्तिम खेल (फाइनल)लाई विश्वकै सबैभन्दा ठूलो बास्केटबल प्रतियोगितामध्ये एक मानिन्छ। हरेक वर्ष लाखौं खेलप्रेमीहरूले यसलाई प्रत्यक्ष तथा संचार माध्यममार्फत हेर्छन्।
मुख्य तस्बिर : कृतिम बुद्धिमत्ता
प्रतिक्रिया