
इरान र इजरायलबीच फेरि एकपटक ठूलो युद्धको स्थिति सिर्जना भएको छ। इजरायलले इरानका विभिन्न ठाउँमा हवाई आक्रमण गरेपछि इरानले सुरक्षाका कारण आफ्ना धेरै विमानस्थलहरू बन्द गरेको छ। सोमबार इरानका सिराज, केर्मानशाह र मशाद जस्ता ठूला सहरका विमानस्थलहरूमा उडानहरू पूर्ण रूपमा रोकिएका छन्।
इरानको सरकारी दूरदर्शन (टेलिभिजन)का अनुसार राजधानी तेहरानका विभिन्न दिशामा इजरायलले बम र मानव रहित यान (ड्रोन)मार्फत आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार मध्यरातमा तेहरानमा ठूला-ठूला विस्फोटका आवाजहरू सुनिएका थिए। इरानले आफ्ना आकाशमा आएका केही इजरायली मानव रहित यान (ड्रोन)हरूलाई आकाशमै ध्वस्त पारिदिएको दाबी गरेको छ। यता इजरायली सेनाले तेहरानको विस्फोटबारे सिधै केही नभने पनि इरानको ‘रणनीतिक रक्षा प्रणाली’ (सुरक्षा अखडा) मा ठूलो आक्रमण गरेको कुरा स्वीकार गरेको छ।
यसैबीच, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले एक पत्रकार सम्मेलन गर्दै यो तनावको मुख्य जिम्मेवार अमेरिका भएको आरोप लगाएका छन्। आइतबार र सोमबार भएका यी आक्रमणहरूमा अमेरिकाको पूरा समर्थन रहेको इरानको भनाइ छ। प्रवक्ता बाघेईले भने, “हाम्रो क्षेत्रमा कसैले पनि अमेरिकाको अनुमति र सहमति बिना इजरायलले यति ठूलो कदम चाल्न सक्छ भन्ने विश्वास गर्दैन। इजरायलले गरेका सबै आक्रमण र अपराधमा अमेरिका बराबरको भागीदार छ।”
इरानले अमेरिकासँग वार्ता भइरहेको भए पनि अहिलेको घटनाले गर्दा दुई देशबीचको अविश्वास झन् बढेको बताएको छ। लेबनान र इरानको दक्षिणी क्षेत्रमा भएका आक्रमणहरू नरोकिए शान्ति वार्ता अगाडि बढ्न नसक्ने इरानको चेतावनी छ। आफ्नो देशको रक्षाका लागि आवश्यक परेसम्म इजरायललाई जवाफ दिइरहने इरानले स्पष्ट पारेको छ।
प्रतिक्रिया