
भर्जिनिया। अमेरिकाको डिसी महानगर क्षेत्रक्षेत्रमा नेपाली भाषा, संस्कृति र परोपकारको क्षेत्रमा निरन्तर क्रियाशील प्रतिष्ठित संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस )को वार्षिक वनभोज कार्यक्रम भर्जिनियाको मार्शलस्थित रमणीय नर्थन फक्विअर सामुदायिक उद्यानमा अभूतपूर्व उत्साहका साथ सम्पन्न भएको छ।

ग्रीष्मकालिन समयमा आयोजना भएको वनभोजमा अनुकूल मौसम र सुखद वातावरणका बीच आयोजना गरिएको यस वर्षको बनभोजमा विगतका वर्षहरूमा झैँ समुदायको व्यापक सहभागिता रहेको थियो।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको यस वनभोजको सबैभन्दा सुन्दर पक्ष भनेको तीन पुस्ताको अनुपम जमघट थियो। हजुरबुबा-हजुरआमादेखि अमेरिकामा जन्मिएका नयाँ पुस्तासम्म एउटै थलोमा झुम्दा पार्कभित्र नेपालकै एउटा सुन्दर गाउँको झल्को देखिन्थ्यो।

कार्यक्रम अनौपचारिक भए पनि संस्थाले आफ्नो महत्त्वपूर्ण अभियान एएनएचएस एकाडेमी’ (नेपाली पाठशाला)का विद्यार्थीहरूलाई बिर्सिएन। नेपाली भाषा र संस्कृति सिक्न मेहनत गरिरहेका बालबालिकाहरूको परिश्रम र उपलब्धिको कदर गर्दै उनीहरूलाई विशेष प्रशंसा पत्र र प्रोत्साहन स्वरूप केही रकम प्रदान गरियो।

वनभोजकै बीचमा संस्थाका ट्रष्टीका सभापति केदार तिम्सिना तथा एएनएचएसकी अध्यक्ष कामना अधिकारी पन्थीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको अभियानलाई अझ बलियो बनाउन आजीवन तथा साधारण सदस्यता लिन जोडदार आह्वान समेत गरे ।

वनभोजलाई अझ स्वादिलो बनाउन बिहानैदेखि थरिथरिका ताजा परिकारहरू तयार पारिएका थिए। नेपालीहरूको प्रिय पोलेको सेकुवा, दिवाभोजमा खसीको विशेष मासु, शाकाहारीहरूका लागि छुट्टै स्वादिष्ट व्यवस्था र अमेरिकामा जन्मे-हुर्केका दोस्रो पुस्ताका बालबालिकाहरूको रुचि अनुसारका खानाका परिकारहरूले सबैको मन जितेको थियो। खानपानसँगै नेपाली गीत-संगीतमा महिला तथा पुरुषहरूले ढल्की-ढल्की नाचेर माहौललाई थप संगीतमय र मनोरञ्जनात्मक बनाएका थिए।

सन् २००८ को धन्यबाद दिवस अर्थात् थ्याङ्क्सगिभिङ डेका दिन स्थापना भएको एएनएचएस (५०१ सी ३) ले प्राकृतिक विपत्ति र संकटमा परेका नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।
परोपकार र सांस्कृतिक संरक्षणको यो शृङ्खलालाई यस वर्षको सुखद बनभोजले थप ऊर्जा प्रदान गरेको छ।









प्रतिक्रिया