
बाल्टिमोर, अमेरिका। अमेरिकाको मेरिल्याण्डस्थित नेपाली समुदायको अग्रणी तथा छाता संगठन ‘बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका’ (बाना) को आयोजनामा आगामी जुन १३ र १४ तारिखमा एक ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
भारत दिल्ली वृन्दावनबाट अमेरिकाका विभिन्न राज्यहरुमा निरन्तर ‘श्रीमद्भागवत कथा’ मा व्यस्त रहेकी हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाकी प्रखर संवाहक, लोकप्रीय कथावाचिका देवी प्रतिभाको मधुर वाचनमा ऐतिहासिक ‘श्रीमद्भागवत कथा’ आयोजना हुन लागेको हो।
यस महायज्ञको मुख्य उद्देश्य नेपाली समुदायको पहिचान र साझा आवश्यकतासँग जोडिएको ‘क्रियापुत्री भवन तथा दाह गृह ‘ निर्माणमा सहयोग जुटाउनु हो। “जति सक्छौँ, मनबाट अर्पण गरौँ र यस महान् कार्यलाई सफलतापूर्वक पूरा गरौँ” भन्ने पवित्र भावनाका साथ यो वृहत् आध्यात्मिक कार्यक्रम सुरु हुन लागेको हो।
महोत्सवको पहिलो दिन, अर्थात् जुन १३ तारिख शनिबार बिहान ८:३० देखि ११:३० बजेसम्म ‘हिन्दु बुद्ध मन्दिर’ बाट भव्य कलश यात्रा निकालिने आयोजकले जनाएको छ। कलश यात्रामा सहभागी हुनका लागि दर्ता खुल्ला गरिएको छ। आयोजकले सम्पूर्ण भक्तजनहरूलाई समयमै आफ्नो नाम दर्ता (रजिस्ट्रेसन) गर्न हार्दिक अनुरोध गरेको छ।
दुई दिने यो विशेष धार्मिक महोत्सव मेरिल्याण्डको एजबुडस्थित प्रतिष्ठित द रयल प्यालेस (The Royal Palace, 1700 Van Bibber Rd, Edgewood, MD 21040)मा सम्पन्न हुनेछ।
यस ऐतिहासिक कार्यक्रमको मुख्य संयोजन तथा व्यवस्थापन अमेरिकास्थित स्थापित इभेन्ट म्यानेजमेन्ट कम्पनी वेल डन क्रिएसनले गरिरहेको छ।
समुदायको हित र संस्थागत पारदर्शिताका लागि निरन्तर क्रियाशील बानाका महासचिव सिलिन बस्नेतको विशेष परिकल्पनामा यो कार्यक्रम तय भएको हो।
महोत्सवलाई सफल बनाउन बाल्टिमोरका प्रतिष्ठित व्यक्तित्वहरू मैदानमा उत्रिएका छन्। सफल व्यवसायी तथा समाजसेवी तिर्थ पाण्डेको संयोजनमा कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ भने बानाका संचालक समिति सदस्य तथा वरिष्ठ समाजसेवी ललित शाह विभिन्न तहमा समुदायलाई एकजुट गराउँदै समन्वयकारी भूमिकामा सक्रिय छन्।
एकजुट हुन अध्यक्ष गुरुङको अपिल :
“हरेक योगदान महत्त्वपूर्ण छ—कृपया साथ दिनुहोस् र परिवर्तन ल्याउन सहयोग गर्नुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै बानाका अध्यक्ष जीतेन्द्र गुरुङले यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, बुद्धिजीवी, व्यवसायी तथा आम समुदायलाई कार्यक्रममा उपस्थित भई कथा श्रवण गर्न र आफ्नो बुताले भ्याएसम्म सहयोग गरी यस पवित्र अभियानलाई सफल बनाइदिन हार्दिक अनुरोध गरेका छन् ।
कार्यक्रम विवरण:
प्रमुख अतिथि/कथावाचिका:देवी प्रतिभा
मिति:जुन १३ र १४, २०२६
कलश यात्रा: जुन १३ (पहिलो दिन), बिहान ८:३० देखि ११:३० सम्म (स्थान: हिन्दु बुद्ध मन्दिर)
कथा वाचन स्थान: The Royal Palace, 1700 Van Bibber Rd, Edgewood, MD 21040
आयोजक:बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (BANA)
मुख्य व्यवस्थापक : वेलडन क्रिएसन
प्रतिक्रिया