
वासिङ्टन डीसी। अमेरिकी अर्थ बिभाग मन्त्रालयले युद्धका क्रममा इरानी शासकहरूले पुर्याएको क्षतिको पुनर्निर्माण र राहतका लागि इरानकै रोक्का गरिएका सम्पत्तिहरू प्रयोग गर्ने योजना बनाएको छ। अर्थसचिवस्कट बेसेन्ट निकट स्रोतलाई उद्धृत गर्दै सीबीएस न्यूज(समाचार)ले शनिबार यसको पुष्टि गरेको हो।
स्रोतका अनुसार, इरानले भविष्यमा पुर्याउन सक्ने सम्भावित क्षतिको पुनर्निर्माण र मर्मत सम्भारका लागि अमेरिकाले आफ्नो कानुनी अधिकार प्रयोग गरी इरानका विभिन्न कोष तथा सम्पत्तिहरू परिचालन गर्नेछ। अर्थसचिव बेसेन्टले खाडी क्षेत्रका मित्र राष्ट्रहरूसँग युद्ध सुरु भएदेखि हालसम्म इरानी आक्रमणका कारण भएको भौतिक र आर्थिक क्षतिको विस्तृत विवरण (लागत अनुमान) संकलन गर्न निर्देशन समेत दिइसकेका छन्।
यसका साथै, युद्धका क्रममा खाडी मुलुकहरूले यसअघि नै व्यहोरिसकेको क्षतिको क्षतिपूर्ति भर्नका लागि समेत इरानी सम्पत्ति उपयोग गर्न सकिन्छ वा सकिँदैन भन्नेबारे थप मूल्याङ्कन भइरहेको छ। यद्यपि, इरानको कुन प्रकारको सम्पत्ति (जस्तै: बैंक खातामा रोक्का गरिएको नगद वा तेल ट्याङ्कर जस्ता भौतिक सम्पत्ति) यस काममा प्रयोग गरिनेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
अहिले अमेरिका र इरानबिच अप्रत्यक्ष रूपमा शान्ति वार्ता भइरहेको छ। वार्ताका क्रममा इरानले विदेशमा रोक्का गरिएका आफ्ना अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गर्न र आफूमाथिका आर्थिक प्रतिबन्धहरू हटाउनुपर्ने अडान राख्दै आएको छ।
फेब्रुअरी महिनाको अन्त्यतिर युद्ध सुरु भएदेखि यता इरानले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन, कतार र ओमान लगायतका खाडी मुलुकहरूमा निरन्तर क्षेप्यास्त्र तथा मानव रहित यान( मिसाइल तथा ड्रोन )आक्रमणहरू गर्दै आएको छ, जसका कारण ती क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ।
प्रतिक्रिया