अध्यावधिक गरिएको : अमेरिकाको ओहायोमा महोत्सव नजिकै अन्धाधुन्ध गोलाबारी हुँदा १२ जना घाइते, २ को अवस्था गम्भीर

इनेप्लिज २०८३ जेठ २४ गते ११:५१ मा प्रकाशित

ओहायो, अमेरिका। अमेरिकाको ओहायो राज्यस्थित टोलेडो शहरमा शनिबार साँझ आयोजना भएको एक खुल्ला उत्सव (फेस्टिभल) नजिकै दुई पक्षबिच भएको अन्धाधुन्ध गोली हानाहानमा परी कम्तीमा १२ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था निकै चिन्ताजनक छ।

टोलेडो प्रहरीका उपप्रमुख जोसेफ हेफर्नानका अनुसार मैदानमा कम्तीमा दुई जना बन्दुकधारीहरू थिए, जसले एकअर्कालाई लक्षित गरी गोली चलाएका थिए। एबिसीन्यूजले जनाए अनुसार त्यहाँ उपस्थित सर्वसाधारण नागरिकहरू ती दुई समूहको ‘क्रसफायर’ (दोहोरो भिडन्त) मा परेका हुन्। प्रहरी अधिकारी ड्यान गर्किनले घाइते हुनेहरूको उमेर १४ वर्षदेखि ६१ वर्षसम्म रहेको जानकारी दिएका छन्।

यो घटना स्थानीय समय अनुसार शनिबार साँझ ५:३७ बजे सुरु भएको थियो। टोलेडोको एउटा ऐतिहासिक समुदाय र संस्कृतिको उत्सव मनाउन आयोजित ‘ओल्ड वेस्ट एन्ड फेस्टिभल’ को नजिकै गोली चलेको खबर प्रहरीले पाएको थियो। घटनाको अनुसन्धान भइरहेको छ।

प्रहरी उपप्रमुखले दुःख व्यक्त गर्दै भने, “यो अत्यन्तै भयानक घटना हो। जब गोली चल्न थाल्छ, त्यो कता जान्छ र कसलाई लाग्छ भन्ने निश्चित हुँदैन।” घटनाको समयमा त्यहाँ सयौँ मानिसहरू उपस्थित थिए। प्रहरीले त्यहाँ रहेका स्थानीय नागरिकहरूलाई आफ्ना घुम्ती यन्त्र (मोबाइल फोन)का श्रब्यदृश्य (भिडियो)हरू जाँच गर्न र दोषीलाई पक्राउ गर्न मद्दत गर्न अपिल गरेको छ।

करिब २ लाख ७० हजार जनसङ्ख्या भएको टोलेडो शहरको यो सबैभन्दा ऐतिहासिक र लोकप्रिय उत्सव थियो। यस्तो दुःखद घटनाका कारण आइतबारका लागि तय गरिएका उत्सवका बाँकी सबै कार्यक्रमहरू रद्द गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया