अमेरिकामा शिक्षकको लाजमर्दो हर्कत: आफैँले धर्मपुत्र बनाएका दुई किशोरमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

इनेप्लिज २०८३ जेठ २३ गते १२:३९ मा प्रकाशित

अमेरिकाको वासिङ्टन राज्यमा एक शिक्षिका आफैँले कानुनी रूपमा धर्मपुत्र बनाएका दुई जना किशोरहरूसँग शारीरिक सम्बन्ध राखेको र यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा पक्राउ परेकी छन्। पेन्ड ओरेग्लि काउन्टी प्रहरीका अनुसार ३५ वर्षीया शिक्षिका अम्बेर स्वेनलाई पहिलो र दोस्रो श्रेणीको हाडनाता करणीको मुद्दामा कारागार चलान गरिएको छ।

अम्बेर स्वेन त्यहाँको न्युपोर्ट बिद्यालय (स्कुल )क्षेत्र अन्तर्गत पर्ने एउटा वैकल्पिक माध्यमिक बिद्यालय( हाइस्कुल)मा शिक्षिका तथा निर्देशिकाको रूपमा कार्यरत थिइन्। उनी पक्राउ परेको जानकारी पाउनासाथ विद्यालय प्रशासनले उनलाई तुरुन्तै कामबाट निलम्बन गरेको छ। बिद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी यस्ता संवेदनशील र गम्भीर घटनालाई कुनै पनि हालतमा सहने छैनौँ र दोषीलाई कारबाही गर्न प्रहरीलाई पूर्ण रूपमा सहयोग गरिरहेका छौँ।”

प्रहरीका अनुसार गत मे महिनामा बाल तथा युवा कल्याण विभागले ती १७ र १८ वर्षका दुई किशोरहरूमाथि यौन दुर्व्यवहार भइरहेको सूचना दिएपछि यस घटनाको अनुसन्धान सुरु भएको थियो। प्रहरीले ती किशोरहरू र शिक्षिका दुवै पक्षसँग बयान लिएको थियो। बयानका क्रममा एक किशोरले आफू र ती शिक्षिकाबीच धेरै पटक शारीरिक सम्बन्ध भएको र प्रहरीमा उजुरी पर्नुभन्दा केही दिन अघि मात्र पनि त्यस्तो कार्य भएको खुलासा गरे। प्रहरीले उनीहरूबीच घुम्तीयन्त्र अर्थात् मोबाइलमा भएका शङ्कास्पद सन्देशहरू (टेक्स म्यासेज ) फेला पारेपछि मात्र उनलाई पक्राउ गरेको हो।

फक्सन्यूजका अनुसार सुरुमा शिक्षिका स्वेनले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन्। तर प्रहरीले प्रमाण देखाएर केरकार गरेपछि उनले तीमध्ये एक किशोरसँग आफ्नो सम्बन्ध रहेको कुरा स्वीकार गरिन्। अर्का किशोरले पनि आफू ओछ्यानमा सँगै हुँदा दुर्व्यवहार भएको प्रहरीलाई बताएका छन्।

कारागार परेपछि पनि ती शिक्षिकाले लुकिछिपी किशोरहरूलाई सम्पर्क गर्ने प्रयास गरेको पाइएपछि अदालतले उनलाई ती पीडितहरूसँग कुनै पनि सम्पर्क नगर्न कडा आदेश दिएको छ।

सरकारी वकिलले समाज र ती किशोरहरूको सुरक्षालाई ध्यानमा राख्दै शिक्षिकालाई ५० हजार अमेरिकी डलर धरौटी जम्मा गरेपछि मात्र जेलमुक्त गर्न अदालतसँग माग गरेका छन्। यो घटना बाहिरिएपछि अमेरिकाको शैक्षिक क्षेत्र र समाजमा ठूलो धक्का लागेको छ।

प्रतिक्रिया