
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र पद र व्यक्तिगत अवसरका लागि मरिहत्ते गर्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् । दलको पहिलो ऐतिहासिक महाधिवेशनको प्रक्रिया अन्तर्गत जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशनहरू भइरहेको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुन विशेष आह्वान गरेका छन् ।
सभापति लामिछानेले वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिँदै जिल्ला अधिवेशन नेतृत्व छान्ने काम मात्र नभएर दलको भविष्य र राम्रो संस्कार बसाल्ने ऐतिहासिक अवसर भएको बताएका छन् । उनका अनुसार पार्टी(दल)लाई अझ बलियो बनाउन हरेक तहमा सक्षम, इमानदार र जनताले मन पराउने नेतृत्व आवश्यक छ । सम्बाद, सहमति र आन्तरिक चुनावजस्ता लोकतान्त्रिक विधिबाटै नेतृत्व छानिने रास्वपाको संस्कार भएको उनले उल्लेख गरेका छन् ।
पार्टी अर्थात् दलभित्र देखा पर्न थालेका गलत प्रवृत्तिको चर्चा गर्दै लामिछानेले भनेका छन् , “सुरुवाती दिनमा पाइएको अस्थायी जिम्मेवारीलाई नै स्थायी मानेर पदोन्नति खोज्ने वा आफ्नो योगदानको हिसाब-किताब माग्ने बानी दलका लागि राम्रो होइन ।” स्थापनाको मात्र चार वर्षमा यस्तो सोचले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको भन्दै उनले यसलाई बेलैमा सच्याउनुपर्ने कुरामा जोड दिएका छन् । भविष्यमा सांसद बन्ने लोभले दलको पद पाउन मरिहत्ते गर्ने प्रवृत्तिलाई चुनावकै माध्यमबाट रोक्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।
रास्वपा आज जुन स्थानमा आइपुगेको छ, त्यो केही व्यक्तिको कारणले मात्र नभई मतदाताको विवेक र सबै सदस्यहरूको समर्पणले सम्भव भएको उनले प्रस्ट पारेका छन् । पुराना साथीहरूले बनाएको बलियो जगमा नयाँ पुस्ताको ऊर्जा थपिएकाले नै दलले यो उचाइ लिएको हो ।
अब रास्वपाको लक्ष्य केवल एउटा वैकल्पिक शक्ति मात्र रहने नभई देशकै नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको उनले घोषणा गरे । संगठन ठूलो हुँदा आफ्नो पद गुम्ने डर पाल्नु संकीर्ण सोच भएको भन्दै उनले देश परिवर्तनका लागि सबैलाई धैर्य र त्याग देखाउन आग्रह गरेका छन् ।
अन्त्यमा, उनले रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रियालाई सभ्य, भव्य र सुसंस्कृत बनाउन सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन् ।
प्रतिक्रिया