
सन् २०२६ को फुटबल विश्वकप भकुण्डो प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि सुरु हुँदैछ। तर खेल सुरु हुनुअघि नै अमेरिका र इरानबिच ठूलो विवाद सुरु भएको छ। इरानले आफ्ना खेलाडीहरूका लागि प्रवेशाज्ञा (भिसा )पाए पनि टोलीका मुख्य व्यवस्थापक र प्राविधिक सल्लाहकारहरूलाई अमेरिकाले प्रवेशाज्ञा(भिसा )नदिएको आरोप लगाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार खेलाडी र मुख्य सहयोगीहरूलाई प्रवेशाज्ञा(भिसा) दिइसकिएको छ। तर, अमेरिकाले खेलको बहाना बनाएर आफ्नो देशमा आतंकवादीहरूलाई ‘लुकिछिपी’ भित्रिन नदिने कडा चेतावनी पनि दिएको छ। अमेरिकाका विदेश सचिव मार्को रुबियोले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’ (एक सैन्य संगठन) सँग जोडिएका कुनै पनि व्यक्तिलाई अमेरिका आउन नदिने स्पष्ट पारेका छन् । इरानका केही खेलाडीहरूले पनि यसअघि अनिवार्य सैन्य सेवाका क्रममा सोही संगठनमा काम गरेका थिए।
यता, इरानले भने अमेरिकाले खेलकुदमा राजनीति मिसाएर विभेद गरेको आरोप लगाएको छ। प्रवेशाज्ञा(भिसा )नपाउनेहरूमा इरानी भकुण्डो (फुटबल )संघका अध्यक्ष र उपाध्यक्ष समेत रहेका छन्। यस अन्यायको विरुद्ध इरानले भकुण्डोको अन्तर्राष्ट्रिय संस्था ‘फिफा’ सँग गुहार मागेको छ।
यी सबै तनावबिच इरानी टोली टर्कीको तालिम केन्द्रबाट मेक्सिकोका लागि प्रस्थान गरिसकेको छ, जहाँ उनीहरू विश्वकपका लागि बस्नेछन्।
इरानको पहिलो खेल जुन १५ मा लस एन्जलसमा हुनेछ भने अन्य खेलहरू क्यालिफोर्निया र सियाटलमा बेल्जियम र इजिप्टसँग हुने तय भएको छ। इतिहासमै पहिलो पटक, युद्ध भइरहेका देशहरू खेल मैदानमा आमनेसामने हुन लागेकाले यस पटकको विश्वकप झन् चर्चामा छ।
प्रतिक्रिया