
अमेरिकी सेनाले प्रशान्त महासागरमा गुडिरहेको एउटा शङ्कास्पद डुङ्गामाथि शक्तिशाली हमला गरेको छ। सेनाले उक्त डुङ्गामा अवैध लागुऔषध (ड्रग्स) ओसारपसार भइरहेको आरोप लगाएको छ। बुधवार भएको यस आक्रमणमा दुई जना मानिसको मृत्यु भएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करहरूविरुद्ध महिनाौँदेखि एउटा ठूलो अभियान चलाइरहेका छन्। हालै सार्वजनिक भएको एउटा श्रब्यदृश्य (भिडियो)मा समुद्रमा तीव्र गतिमा गुडिरहेको डुङ्गा अचानक आगोको ज्वालामा परिणत भएको देखिन्छ। गत सेप्टेम्बर महिनादेखि सुरु भएको यस सैन्य अभियानमा अहिलेसम्म कम्तीमा २०७ जना मानिस मारिइसकेका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकामा लागुऔषधका कारण हरेक वर्ष हजारौँ नागरिकको ज्यान जाने भएकाले तस्करहरूविरुद्ध ‘सशस्त्र युद्ध’ नै घोषणा गर्नु परेको बताएका छन्। सिबिएसन्यूजका अनुसार तर, अमेरिकी सेनाले ती डुङ्गामा साँच्चिकै लागुऔषध थियो भन्ने ठोस प्रमाण भने सार्वजनिक गरेको छैन। यसै कारण, कतिपय कानुनविद् र राजनीतिज्ञहरूले सेनाको यो कदममाथि ठुलो प्रश्न उठाएका छन्।
विज्ञहरूका अनुसार अमेरिकामा धेरैजसो घातक लागुऔषध जमिनको बाटो हुँदै मेक्सिकोबाट भित्रिन्छ, समुद्रबाट होइन। यसअघि भएको एउटा आक्रमणमा डुङ्गा ध्वस्त भएपछि दुई जना घाइतेहरू ज्यान जोगाउन भग्नावशेषमा समातेर हात हल्लाउँदै मद्दत मागिरहेका थिए। तर, अमेरिकी सेनाले फेरि अर्को बम खसालेर उनीहरूलाई मारिदियो।
अमेरिकी सरकारले आफूहरूले ‘आत्मरक्षा’ का लागि र युद्धको नियम अनुसार नै दोहोर्याएर आक्रमण गरेको दाबी गरेको छ। तर, कानुनका ज्ञाताहरू भन्छन् कि आत्मसमर्पण गर्न खोजेका वा जीवनको भिख मागिरहेका घाइतेहरूलाई यसरी मार्नु सरासर गैरकानुनी र अमानवीय कार्य हो।
अहिले रक्षा बिभाग (पेन्टागन) ले यस सैन्य अभियानको प्रक्रिया सही थियो कि थिएन भन्नेबारे छानबिन सुरु गरेको छ। अहिलेसम्म यस्ता खतरनाक आक्रमणहरूबाट जम्मा तीन जना मानिस मात्र जीवितै बच्न सफल भएका छन्।
प्रतिक्रिया