ट्रम्पको दाबी असफल: इजरायल र हेजबुल्लाहबिच फेरि सुरु भयो भयानक हमला

चेतावनीपछि भागाभाग: हेजबुल्लाहको पनि जवाफी हमला

इनेप्लिज २०८३ जेठ १९ गते १०:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहलपछि दुवै पक्षले “एकअर्कामाथि गोली हान्न बन्द गरेको” दाबी गरे तापनि इजरायल र हेजबुल्लाह समूहबिच मंगलबार पुनः आक्रमण सुरु भएको छ। ट्रम्पले सोमबार दुई पक्षबिचको तनाव कम गर्न प्रयास गरेका थिए, तर त्यसको भोलिपल्टै फेरि युद्ध चर्किएको हो।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले दक्षिण लेबनानका तीन फरक ठाउँमा शक्तिशाली हवाई हमला गरेको छ, जसमा परी एक जनाको ज्यान गएको छ। यसैबिच, लेबनानको सरकारी सेनाले इजरायली ड्रोन (मानवरहित विमान) को आक्रमणबाट आफ्ना दुई जना सैनिक घाइते भएको जनाएका छन्।

एबिसीन्यूजले जनाए अनुसार इजरायली सेनाका प्रवक्ताले दक्षिण लेबनानको नबतियाह शहरका बासिन्दाहरूलाई तुरुन्तै सो ठाउँ छोडेर सुरक्षित स्थानमा जान नयाँ चेतावनी दिएका छन्। इजरायलले सो क्षेत्रमा लुकेर बसेका हेजबुल्लाहका ठेगानाहरू विरुद्ध ठुलो र शक्तिशाली कारबाही गर्ने तयारी गरिरहेको बताएको छ।

अर्कोतर्फ, मंगलबार बिहान इजरायलको उत्तरी क्षेत्रमा पनि खतराको घण्टी (साइरन)बजेका छन्। इजरायली सेनाका अनुसार लेबनान तर्फबाट धेरै वटा रकेट र मानव रहित यान (ड्रोन)हरू उनीहरूको भूमिमा प्रहार गरिएका छन्।

हेजबुल्लाह समूहले पनि मंगलबार बिहानै दक्षिण लेबनानको हदाथा भन्ने ठाउँमा इजरायलको एउटा ठुलो ट्याङ्कमाथि क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। दुवै तर्फबाट आक्रमण नरोकिँदा सो क्षेत्रमा त्रास झन् बढेको छ।

प्रतिक्रिया