
रुसले युक्रेनमा अहिलेसम्मकै ठुलो र भयानक हवाई आक्रमण गरेको छ। एकै रातमा गरिएका क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन )आक्रमणमा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १०० भन्दा बढी मानिस घाइते भएका छन्। यस पटक रुसको मुख्य निसाना युक्रेनको राजधानी शहर किभ बनेको छ।
युक्रेनको सेनाका अनुसार रुसले ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा साना ड्रोनहरू (मानव रहित यान ) प्रयोग गरेर आक्रमण गरेको थियो। यद्यपि, युक्रेनको आकाशे सुरक्षा टोलीले धेरैजसो खतरालाई बीचमै रोकेर ४० वटा क्षेप्यास्त्र र ६०२ वटा मानव रहित यान (ड्रोन)हरू आकाशमै ध्वस्त पारिदिएको छ।
यस आक्रमणबाट युक्रेनका अस्पताल र सर्वसाधारण बस्ने ९ तले ठुला भवनहरू भत्किएका छन्। कतिपय मानिसहरू अझै पनि भग्नावशेष भित्र थुनिएको आशङ्का गरिएको छ। ज्यान गुमाउनेहरूमा ससाना बालबालिका समेत रहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो क्रूर कदमको कडा विरोध गरेका छन्। उनले भने, “यदि युक्रेनलाई यस्ता क्षेप्यास्त्रहरूबाट बचाइएन भने रुसले यस्ता आक्रमणहरू गरिरहनेछ।” उनले आफूलाई बचाउन अमेरिका र युरोपेली देशहरूसँग ‘पेट्रियट’ जस्ता शक्तिशाली आकाशे रक्षा प्रणाली र हतियारहरू सहयोग गर्न तत्काल अपिल गरेका छन्।
अर्कोतर्फ, युक्रेनका विदेश मन्त्रीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भन्दै रुसले युद्धको मैदानमा हार्दै गएपछि सर्वसाधारणमाथि त्रास फैलाउन खोजेको आरोप लगाएका छन्।
यस विषयमा रुसको रक्षा मन्त्रालयले आफ्नो बचाउ गर्दै आफूहरूले युक्रेनका सैन्य बेस र इन्धन भण्डारहरूलाई मात्र निसाना बनाएको दाबी गरेको छ। साथै, रुसले पनि आफ्नो क्षेत्रमा आएका १४८ वटा युक्रेनी मानव रहित यानहरूलाई खसालेको र सुरक्षाका लागि आफ्ना केही विमानस्थलहरू बन्द गर्नुपरेको जनाएको छ।
प्रतिक्रिया