नेपाली उद्यमीको सफलता : सन्नीभेलमा ‘ब्यूटी थ्रेडिङ सैलून’ उत्कृष्ट श्रेणीमा

इनेप्लिज २०८३ जेठ १९ गते ०:३७ मा प्रकाशित

(क्यालिफोर्निया, अमेरिका) — संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सन्नीभेल सहरमा नेपाली उद्यमी लक्ष्मी राउत चौधरी द्वारा सञ्चालित “ब्यूटी थ्रेडिङ सैलून” ले सन् २०२६ का लागि उत्कृष्ट सौन्दर्य सेवा प्रदायक व्यवसायमध्ये अग्रणी स्थान हासिल गरेको जानकारी प्राप्त भएको छ।

प्राप्त विवरणअनुसार, गूगल रिभ्यू तथा ग्राहक सन्तुष्टि मूल्याङ्कनका आधारमा सञ्चालन गरिएको सर्वेक्षणमा सन्नीभेल क्षेत्रमा सञ्चालित विभिन्न सौन्दर्य व्यवसायहरूको सेवा–गुणस्तर, ग्राहक प्रतिक्रिया (फिडब्याक), समीक्षा (रिभ्यू) तथा अन्य व्यावसायिक मापदण्डहरूको मूल्याङ्कन गरिएको थियो। उक्त मूल्याङ्कनको आधारमा “ब्यूटी थ्रेडिङ सैलून” सन् २०२६ को उत्कृष्ट टप–३ श्रेणीमा समावेश भएको उल्लेख गरिएको छ।

सन्नीभेल क्षेत्रमा यस्ता सौन्दर्य सेवा प्रदान गर्ने व्यवसायहरूको संख्या उल्लेखनीय रहेको अवस्थामा नेपाली उद्यमीद्वारा सञ्चालित व्यवसायले उत्कृष्ट स्थान हासिल गर्नु नेपाली समुदायका लागि पनि गौरवको विषय बनेको छ।

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै सञ्चालिका लक्ष्मी राउत चौधरी ले भनिन्,
“यो उपलब्धि मेरा लागि अत्यन्त प्रेरणादायी र अविस्मरणीय क्षण हो। मैले सदैव इमान्दारिता, मेहनत र सेवाप्रतिको समर्पणलाई प्राथमिकता दिएँ। सात वर्षअघि परिवारसहित अमेरिका आएपछि विगत छ वर्षदेखि यस क्षेत्रमा निरन्तर क्रियाशील छु। निष्ठापूर्वक गरिएको कर्मको प्रतिफल एक दिन अवश्य प्राप्त हुन्छ भन्ने विश्वास आज सत्य सावित भएको महसुस गरेकी छु।”

उहाँले यस सफलताको श्रेय आफ्ना परिवारका सदस्यहरू, सेवाग्राहीहरू, मार्गदर्शकहरू तथा सहयोगीहरूलाई दिँदै विशेष रूपमा कस्मोटेक कलेज, सान होजे का शिक्षक–प्रशिक्षकहरू तथा सौन्दर्य व्यवसायी शान्ति अधिकारी क्षेत्री लगायत सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।

को हुन् लक्ष्मी राउत चौधरी ?

लक्ष्मी राउत चौधरीको जन्म वि.सं. २०३७ सालमा पूर्वी नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण खोटाङ जिल्ला, बराहपोखरी गाउँपालिका–४ (फाक्टाङ) मा पिता तेजबहादुर राउत र माता तीर्थकुमारी राउत को सुपुत्रीका रूपमा भएको हो।

वैवाहिक सम्बन्धपछि वि.सं. २०५९ सालदेखि उहाँ जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी विजय कुमार चौधरी की धर्मपत्नीका रूपमा परिचित हुनुहुन्छ। हाल उहाँ परिवारसहित क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएको छ।

अमेरिका आउनुअघि उहाँ शिक्षा क्षेत्रमा सक्रिय रहँदै “विश्व–विवेक शिक्षा सदन”, जनकपुर, धनुषाकी संस्थापक अध्यक्षका रूपमा योगदान पुर्‍याउनुभएको थियो। सामाजिक सेवामा समेत सक्रिय उहाँ हाल Fremont Sagarmatha Lions Club की क्लब अध्यक्ष (President) का रूपमा कार्यरत हुनुहुन्छ।

उहाँको परिश्रम, लगनशीलता, व्यावसायिक दक्षता तथा सफलताको यात्रा सम्पूर्ण नेपाली महिला उद्यमी तथा प्रवासी नेपाली दिदीबहिनीहरूका लागि प्रेरणाको स्रोत बन्न सकोस् भन्ने शुभेच्छासहित हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

प्रतिक्रिया