ट्रम्प प्रशासनको नयाँ आप्रवासन नीतिबारे भ्रम चिर्दै डिएचएसको स्पष्टीकरण, हरियोपत्रका लागि अमेरिका छोड्नु नपर्ने

इनेप्लिज २०८३ जेठ १८ गते १०:५८ मा प्रकाशित

अमेरिकी गृह सुरक्षा विभागले हालै जारी गरिएको स्थायी आवासीय पत्र अर्थात ग्रीन कार्ड(हरियो पत्र) सम्बन्धी नयाँ नीतिका कारण धेरै आप्रवासीहरूमा फैलिएको चिन्तालाई कम गर्ने प्रयास गरेको छ। विभागले अधिकांश आप्रवासीहरूले स्थायी आवासीय पत्र प्राप्त गर्नका लागि अमेरिका छोडेर आफ्नो देश फर्किनु नपर्ने स्पष्ट पारेको छ।

यस महिनाको सुरुवातमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले एउटा नयाँ नीति जारी गरेको थियो। उक्त नीतिअनुसार अस्थायी प्रवेशाज्ञा अर्थात् भिसा वा मानवीय अनुमतिमा अमेरिकामा बसिरहेका धेरै व्यक्तिहरूले स्थायी आवासीय पत्र आवेदन प्रक्रिया पूरा गर्न आफ्नो देश फर्किनुपर्ने हुन सक्ने बताइएको थियो।

यो घोषणापछि आप्रवासन अधिकारकर्मीहरू र कानुन व्यवसायीहरू चिन्तित बनेका थिए। उनीहरूको भनाइमा, अमेरिकाभित्रै बसेर स्थायी आवासीय पत्र (ग्रीन कार्ड)का लागि आवेदन दिएका लाखौं विदेशी नागरिक प्रभावित हुन सक्थे। विशेष गरी काम गर्ने अस्थायी प्रवेशाज्ञा (भिसा )भएका व्यक्तिहरूमा अन्योल बढेको थियो।

तर शुक्रबार अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको स्पष्टीकरणमा नयाँ नीतिले सबैलाई असर नगर्ने जनाएको छ। विभागका अनुसार यो नीति मुख्यतः त्यस्ता व्यक्तिहरूमा लागू हुनेछ जसले स्थायी आवासीय पत्र प्राप्त गर्न आवश्यक मापदण्ड पूरा गर्दैनन् वा विशेष छुटका लागि योग्य छैनन्।

डिएचएसले स्पष्ट रूपमा भनेको छ कि “कानुनी रूपमा योग्य र सबै आवश्यक शर्त पूरा गर्ने कुनै पनि व्यक्तिलाई स्थायी आवासीय पत्र प्राप्त गर्नबाट रोक्ने उद्देश्य यो नीतिको होइन।”

साथै, हाल स्थायी आवासीय पत्र प्राप्त गरिसकेका स्थायी बासिन्दाहरूलाई यस नीतिले कुनै असर नपर्ने बताइएको छ। उनीहरू पहिलेझैं अमेरिकामा बस्न र विदेश यात्रा गर्न स्वतन्त्र रहनेछन्।

मे २२ मा जारी गरिएको युएससिआइएस को नीतिगत निर्देशन ट्रम्प प्रशासनको कडा आप्रवासन अभियानको एक भाग मानिएको छ। उक्त निर्देशनले अमेरिकाभित्रबाट गरिने अस्थायी अवस्थाबाट स्थायी बसोबासमा परिवर्तन हुने आवेदनलाई “विशेष र असाधारण सुविधा” का रूपमा लिन अधिकारीहरूलाई निर्देशन दिएको थियो।

तस्बिर : कृतिम बुद्धिमत्ता : जेमानाइ

प्रतिक्रिया