चुनावमा ऐतिहासिक जितपछि रवि लामिछानेको पहिलो विदेश भ्रमण: पाँच दिने भ्रमणका लागि भोलि भारत प्रस्थान गर्दै

इनेप्लिज २०८३ जेठ १८ गते ०:३७ मा प्रकाशित

वाशिंगटन डिसी । गत मार्च ५ अर्थात् फागुन २१ को निर्वाचनमा १८२ सिट सहित ऐतिहासिक र उत्साहजनक विजय हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि छिमेकी देश भारत प्रस्थान गर्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबिनको विशेष निमन्त्रणामा उनि जुन १ देखि जुन ५ सम्म भारतको भ्रमणमा जान लागेका हुन् ।

निर्वाचनमा रास्वपाले शानदार जित दर्ता गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सभापति लामिछाने र प्रधानमन्त्री बालेन शाह दुवैलाई दूरवार्ता गर्दै व्यक्तिगत रूपमा बधाई तथा शुभकामना दिएका थिए । उक्त महत्त्वपूर्ण कुराकानी र बदलिँदो राजनीतिक परिस्थितिबीच हुन लागेको यो पाँच दिने भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भारतको सत्ताधारी दल भाजपाको शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक छलफल गर्ने छन् । यस वार्ताले दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। राजनीतिक भेटघाटबाहेक, उनले भारतमा रहेका नेपाली समुदाय र दलका शुभचिन्तकहरूसँग पनि विशेष अन्तर्क्रिया गर्ने छन् । साथै, उनको यो भ्रमण तालिकामा धार्मिक एवं सांस्कृतिक महत्त्वको शहर अयोध्याको व्यक्तिगत भ्रमण पनि समावेश गरिएको छ।

सभापति लामिछानेको नेतृत्वमा जान लागेको यस औपचारिक प्रतिनिधिमण्डलमा रास्वपाका अन्य वरिष्ठ नेताहरू पनि सहभागी हुने छन् । भ्रमण टोलीमा दलका सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय बिपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय दीपक बोहोरा, लामिछानेकी जीवन संगिनी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले सभापति लामिछानेको यो उच्चस्तरीय भ्रमण र बैठकहरूलाई व्यवस्थित एवं सहज बनाउन निकट समन्वयमा काम गरिरहेको पार्टीका प्रवक्ता मनिष झाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया