
अमेरिकाको टेक्सस राज्यस्थित ड्यालस शहरको एक आवासगृह (अपार्टमेन्ट) भवनमा बिहीबार भयानक ग्याँस विस्फोट भएको छ। विस्फोटपछि सल्किएको भीषण आगोले पुरै भवनलाई ध्वस्त बनाउनुका साथै केही नागरिकहरूको ज्यान लिएको छ।
एपीका अनुसार आगलागी यति शक्तिशाली थियो कि त्यसको कडा धक्काले वरपरका घरहरू समेत हल्लिएका थिए भने भवनका भग्नावशेषहरू हावामा उडेका थिए।
ड्यालस फायर-रेस्क्यु (दमकल विभाग) का अनुसार, ओक क्लिफ क्षेत्रमा रहेको एक आवासगृह (अपार्टमेन्ट)मा ग्याँस चुहावट (लिक) भएको खबर पाएपछि दमकलकर्मीहरू त्यसतर्फ जाँदै गर्दा नै अचानक ठुलो विस्फोट भएको थियो।
दमकल विभागका उपप्रमुख मार्क बेरीले घटनामा नागरिकहरूको मृत्यु भएको पुष्टि गर्दै अब उद्धारको काम सकिएर भग्नावशेषबाट शवहरू निकाल्ने कार्य (रिकभरी फेज) सुरु भएको बताएका छन्। यद्यपि, कति जनाको मृत्यु भयो र कति जना अझै बेपत्ता छन् भन्ने यकिन संख्या अधिकारीहरूले खुलाएका छैनन्।
घटनामा घाइते भएका कम्तीमा चार जनालाई तत्काल अस्पताल पुर्याइएको छ। आफ्ना आफन्त र साथीभाइलाई दूरवार्ता (फोन )गर्दा सम्पर्क हुन नसकेपछि धेरै मानिसहरू चिन्तित बनेका छन्। हराइरहेकाहरूको विवरण संकलनका लागि नजिकैको एउटा माध्यमिक बिद्यालय (हाई स्कूल)मा सहायता केन्द्र स्थापना गरिएको छ।
ग्याँस आपूर्ति गर्ने कम्पनी ‘एट्मोस इनर्जी’ ले दिएको जानकारी अनुसार, दुर्घटनास्थल नजिकै काम गरिरहेको एक निर्माण टोली (कन्स्ट्रक्सन क्रु) ले ग्याँसको मुख्य पाइपलाइन फुटाएका कारण यो दुर्घटना भएको हो। सुरक्षाका लागि उक्त क्षेत्रको ग्याँस आपूर्ति तत्काल बन्द गरिएको छ।
एपीले आफ्नो समाचारमा जनाए अनुसार घटनाका प्रत्यक्षदर्शी जुली जेन्सेनले आफू घरमा दूरदर्शन (टिभी) हेरिरहेका बेला बम पड्केको जस्तो ठुलो आवाज आएको र घरका भित्तामा झुन्ड्याइएका सामानहरू भुईँमा खसेको बताइन्।
अर्का प्रत्यक्षदर्शी साल डे ला रोसाले पनि विस्फोटको धक्काले आफ्नो गाडी मर्मत पसल नै हल्लिएको बताए। अहिले दमकलकर्मीहरू जलेको भवनको भग्नावशेष पन्छाउँदै हराइरहेका मानिसहरूको खोजी कार्यमा जुटिरहेका छन्।
प्रतिक्रिया