शहीद स्मृति दिवस : राष्ट्रपति ट्रम्पद्वारा इरान युद्धमा ज्यान गुमाएका १३ अमेरिकी सैनिकको सम्मान

सैनिकको बलिदान खेर जान दिन्नौँ

इनेप्लिज २०८३ जेठ ११ गते १८:२३ मा प्रकाशित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेमोरियल डे’ अर्थात् शहीद स्मृति दिवसको अवसरमा आर्लिंगटन राष्ट्रिय “सैनिक समाधिस्थल” पुगेर इरानसँगको युद्धमा ज्यान गुमाएका १३ जना अमेरिकी सैनिक अधिकारीहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सैनिकहरूलाई सम्मान गर्दै राष्ट्रपति ट्रम्पले भने , “हामीले ‘अपरेशन एपिक फ्युरी’ का क्रममा १३ जना उत्कृष्ट र विशेष वीर अमेरिकी सैनिक आत्माहरूलाई गुमायौँ। यी महान पुरुष र महिलाहरूले संसारकै सबैभन्दा ठूलो आतंकवादी समर्थक देश (इरान) सँग परमाणु हतियार कहिल्यै नहोस् भन्नका लागि आफ्नो ज्यानको बलिदान दिए। र, म विश्वास दिलाउँछु कि इरानले कहिल्यै पनि परमाणु हतियार पाउन सक्ने छैन।”

उक्त युद्धका क्रममा मध्यपूर्वमा इरानले गरेको पहिलो चरणको जवाफी हमलामा ७ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। यस्तै, पश्चिमी इराकमा अमेरिकी वायुसेनाको इन्धन भर्ने जहाज दुर्घटना हुँदा ६ जना वायुसेनाका सैनिकहरूले ज्यान गुमाएका थिए।

यसैबीच, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक प्रकाशन (पोस्ट) लेख्दै पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग गरिएको परमाणु सम्झौताको कडा आलोचना गरेका छन् । उनले आफ्नो नयाँ सम्झौता ओबामाको भन्दा ‘पूर्ण रूपमा उल्टो र कडा’ हुने दाबी गरे । ओबामाको पालाको सम्झौतालाई ‘विनाशकारी’ भन्दै ट्रम्पले त्यसले इरानलाई परमाणु हतियार बनाउने सिधा बाटो खोलेको आरोप लगाए । उनले लेखेका छन् , “म त्यस्तो बेकारको सम्झौता कहिल्यै गर्दिनँ। इरानसँग सम्झौता भए धेरै राम्रो र अर्थपूर्ण हुनेछ, नत्र कुनै सम्झौता नै हुने छैन।”

आफ्ना आलोचकहरूलाई जवाफ दिँदै ट्रम्पले उनीहरूलाई नयाँ सम्झौताको बारेमा केही पनि थाहा नभएको र धेरै कुराहरू अझै छलफलकै क्रममा रहेको बताएका छन् ।

यसका साथै ट्रम्पले आफ्नै रिपब्लिकन दलका केही विरोधी नेताहरू (सिनेटर बिल क्यासिडी र थोमस मासी) को आलोचना गर्दै उनीहरू चुनावमा पराजित भइसकेको र अरू पनि चाँडै पदबाट हट्ने दाबी गरे । अन्त्यमा, विरोधी ‘डेमोक्र्याट’ दल (पार्टी)ले अमेरिकी सेनाको अपमान गरेको आरोप लगाउँदै उनले सबै अमेरिकी नागरिकलाई ‘मेमोरियल डे’ अर्थात् शहीद स्मृति दिवसको शुभकामना दिएका छन् ।

प्रतिक्रिया