
इरानले अमेरिकासँग धेरै विषयमा “केही हदसम्म समझदारी” बनेको भए पनि तत्कालै कुनै ठोस सम्झौता भइहाल्ने अवस्था नरहेको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बघाहीले तेहरानमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले आफ्ना बाचा र प्रतिबद्धताहरू सधैँ पूरा गर्छ भन्ने कुनै ग्यारेन्टी(प्रत्याभूति) नभएको बताएका छन् ।
प्रवक्ता बघाहीका अनुसार अहिलेको चरणमा इरानको आणविक (न्यूक्लियर) कार्यक्रमका बारेमा कुनै छलफल भइरहेको छैन। इरानले पहिले लेबनानसहित सबै क्षेत्रमा भइरहेको युद्ध पूर्ण रूपमा रोकिनुपर्ने माग राखेको छ। युद्ध आधिकारिक रूपमा समाप्त भएको घोषणा नभएसम्म आफ्नो आणविक कार्यक्रमका कडा बुँदाहरूमा छलफल नगर्ने अडान इरानको छ।
बघाहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनप्रति टिप्पणी गर्दै अमेरिकाको राजनीतिक अडान छिनछिनमा बदलिरहने आरोप लगाए । उनले भने , “केही घण्टाकै फरकमा अमेरिकी अधिकारीहरूबाट बिल्कुलै फरक र विरोधाभासपूर्ण कुराहरू आउने गर्छन्, जसले गर्दा वार्ताको प्रक्रियालाई अगाडि बढाउन निकै गाह्रो भइरहेको छ।”
यसबाहेक, समुद्री व्यापारको मुख्य बाटो ‘स्ट्रेट अफ हर्मज’ (हर्मुज जलडमरू) बाट जाने जहाजहरूसँग पैसा उठाउने इरानको योजनालाई उनले बचाउ गरे । इरानले यसलाई ‘कर वा महसुल’ नभई जहाजहरूलाई दिइने सुरक्षा र वातावरणीय संरक्षणको “सेवा शुल्क” भएको दाबी गरेको छ। जुनसुकै जिम्मेवार देशले पनि हर्मुज जलडमरू जस्तो महत्त्वपूर्ण बाटोलाई सुरक्षित र व्यवस्थित बनाउने यस्तो नियमको स्वागत गर्नुपर्ने प्रवक्ता बघाहीको भनाइ थियो।
प्रतिक्रिया