
अमेरिकी विदेशसचिव मार्को रुबियोले अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध अन्त्य गर्ने सम्झौता अझै ‘प्रक्रियामै’ रहेको बताएका छन् । भारत भ्रमणका क्रममा आगरा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले यो सम्झौता तत्कालै भइहाल्छ भनेर ठूलो आशा गरिहाल्ने समय अझै नभएको प्रष्ट पारे ।
एबिसीन्यूजका अनुसार विदेशसचिव रुबियोका अनुसार समुद्री व्यापारका लागि निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मज’ (हर्मुज जलडमरू) को बाटो खुला गर्न अहिले एउटा बलियो प्रस्ताव टेबलमा राखिएको छ। यस प्रस्तावले ढुवानीमा भइरहेको अवरोध हटाउने र इरानसँग निश्चित समयभित्र आणविक (न्यूक्लियर) विषयमा महत्त्वपूर्ण वार्ता गर्ने बाटो खोल्ने विश्वास गरिएको छ। वार्तामा भइरहेको ढिलाइको कारण इरानको आफ्नै सरकारी प्रणाली भएको उनको भनाइ छ।
अर्कोतर्फ, लेबनानको अवस्थाबारे बोल्दै रुबियोले लेबनान र इरानको विषयलाई अमेरिकाले फरक-फरक रूपमा हेरिरहेको बताए । इजरायल र लेबनानका नेताहरूबीच युद्धविरामको सहमति भए पनि त्यहाँ अझै इजरायली हमला र हेजबुल्लाहका आक्रमणहरू रोकिएका छैनन्। यस विषयमा अमेरिकाले दुवै देशसँग दिनहुँ र हप्ताको एक पटक विशेष बैठक गरिरहेको छ।
रुबियोले जोड दिँदै भने , “समस्या लेबनान र इजरायलबीच होइन, समस्या त हेजबुल्लाह समूह हो। जबसम्म लेबनानमा हतियारधारी हेजबुल्लाह रहिरहन्छ, तबसम्म त्यहाँ शान्ति स्थापना गर्न गाह्रो हुनेछ।”
इजरायलले लेबनानभित्र गर्ने हवाई हमलाहरू रोक्छ कि रोक्दैन भन्ने प्रश्नमा रुबियोले आफ्नो रक्षा गर्ने अधिकार इजरायलसँग सुरक्षित रहेको बताए । लेबनानको भूमिबाट इजरायलमाथि आक्रमण हुन नदिनु इजरायलको अधिकार भएको र यो कुरा युद्धविरामको समयमा र त्यसपछि पनि लागू हुने उहाँले स्पष्ट पारे ।
प्रतिक्रिया