
अमेरिकाको साउथ क्यारोलाइना राज्यको एटलान्टिक बीच(शहर)मा भइरहेको एउटा ठूलो मोटरसाइकल (भटभटे) उत्सवमा अचानक भागदौड मच्चिँदा कम्तीमा १९ जना घाइते भएका छन्। यो घटना आइतबार बिहान सबेरै १ बजेतिर एउटा साङ्गीतिक मन्च नजिकै भएको हो।
प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार त्यहाँ कुनै झगडा भएको थिएन । त्यहाँ कसैसँग हतियार पनि थिएन। तर, भीडको बीचबाट एकजना व्यक्ति अचानक जोडले दौडिन थालेपछि मानिसहरू डराए।
त्यसपछि ‘केही दुर्घटना भयो कि’ भन्ने डरले अरू मानिसहरू पनि ज्यान जोगाउन जथाभावी दौडिन थाले। यो भागाभाग केही सेकेन्ड मात्र चलेको थियो, तर त्यही बीचमा धेरै मानिसहरू लडेर र थिचिएर घाइते हुन पुगे।
घटना लगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले स्थिति सम्हालेका थिए र आत्तिएको भीडलाई शान्त पारेका थिए। उद्धार टोलीका अनुसार घाइते भएका १९ जनामध्ये धेरैजसोलाई सामान्य चोट लागेको छ र उपचारपछि घर पठाइएको छ। तर, तीन जनाको चोट अलि बढी भएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको ज्यान भने खतरामा नरहेको बताइएको छ।
स्थिति सामान्य भएपछि यो उत्सव फेरि सुरु भएको थियो। स्थानीय अधिकारी टिटस लिक्सले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका चाहन । उनले त्यहाँ आउने नागरिक र पर्यटकहरूको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
यो उत्सवको नाम ‘ब्ल्याक पर्ल कल्चरल हेरिटेज एण्ड बाइक फेस्टिभल’ हो। यो विगत ४० वर्षदेखि हरेक वर्ष ‘मेमोरियल डे’ अर्थात् राष्ट्रिय स्मृति दिवसको हप्तान्तमा मनाइँदै आइएको छ, जहाँ देशभरिबाट हजारौँ भटभटे (मोटरसाइकल) प्रेमीहरू जम्मा हुने गर्छन्।
गत वर्ष पनि यस उत्सवका क्रममा केही ठाउँमा गोली चलेको र झगडा भएका घटनाहरू सार्वजनिक भएका थिए।
प्रतिक्रिया