एक महिनाभित्रै अमेरिकी राष्ट्रपति निवास आसपास गोली चलेको यो तेस्रो घटना, सुरक्षा व्यवस्था थप कडा पारिँदै

राष्ट्रपति ट्रम्पद्वारा सुरक्षाकर्मीहरूको तीव्र र व्यावसायिक कदमको खुलेर प्रशंसा

इनेप्लिज २०८३ जेठ १० गते ११:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ नजिकै शनिबार फेरि अर्को एउटा भयानक गोलीकाण्ड घट्यो । एकजना बन्दुकधारीले ह्वाइट हाउस बाहिर रहेको ‘सेक्रेट सर्भिस’ (सुरक्षाकर्मी) को चौकी (पोष्ट)तर्फ लक्षित गरी अचानक कयौँ पटक गोली चलाएका थिए। त्यसपछि बन्दुकधारीमाथि सुरक्षाकर्मीहरूले पनि तुरुन्तै जवाफी गोली प्रहार गरे। उक्त कारबाहीमा २१ वर्षीय आक्रमणकारी नासिरे बेस्टको मृत्यु भयो । उनि मेरिल्याण्डका बासिन्दा हुन् तर पछिल्लो जानकारी अनुसार उनि बिगत डेढ बर्ष देखि डिसी मै बस्दै आएका थिए ।

गोली चल्ने समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए। सुरक्षा निकायका अनुसार राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको जानकारी हिजै दिई सकेका छन् । साथै कुनै पनि सुरक्षाकर्मीलाई चोटपटक लागेको छैन। तर, बाटोमा हिँडिरहेका एक सर्वसाधारण नागरिकलाई भने गोली लागेको बताईएको छ । उनलाई बन्दुकधारीको गोली लागेको हो वा सुरक्षाकर्मीको भन्नेबारे अझै अनुसन्धान भइरहेको बिभिन्न पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् ।

घटनापछि आइतबार बिहानै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एउटा सन्देश लेख्दै सुरक्षाकर्मीहरूको तीव्र र व्यावसायिक कदमको खुलेर प्रशंसा गरेका छन्। ट्रम्पका अनुसार ती बन्दुकधारीको पुरानो इतिहास हिंसक थियो र उनी अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण भवन (ह्वाइट हाउस) प्रति निकै सनकी र नकारात्मक सोच राख्थे।

अनुसन्धान अनुसार उनि सन् २०२५ को जुलाईमा पनि उनले ह्वाइट हाउसभित्र जबर्जस्ती छिर्ने प्रयास गरेका थिए, जसका कारण उनलाई प्रहरीले पक्राउ गरी मानसिक अस्पताल पठाएको थियो।

पछिल्लो एक महिनाभित्र राष्ट्रपति निवास आसपास गोली चलेको यो तेस्रो घटना हो। यसअघि अप्रिल महिनामा ह्वाइट हाउसको एउटा बृहत भोज (डिनर) कार्यक्रम र मे महिनाको सुरुमा वासिङ्टन स्मारक नजिकै पनि गोली चलेको थियो।

यस्ता लगातारका घटनाले गर्दा भविष्यका राष्ट्रपतिहरूका लागि वासिङ्टन डीसीमा संसारकै सबैभन्दा सुरक्षित ठाउँ वा भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति ट्रम्पले बताएका छन्।

प्रतिक्रिया