लस एन्जलस बन्दरगाहमा तेल बोक्ने जहाजबाट ६४ लाख डलरको कोकिन जफत, सङ्गठित लागूऔषध तस्कर पक्राउ

इनेप्लिज २०८३ जेठ ९ गते १०:५७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लस एन्जलस बन्दरगाहमा अमेरिकी संघीय गुप्तचरहरूले एउटा ठुलो तेल वाहक जहाजबाट करिब ६४ लाख डलर मूल्य बराबरको अवैध लागुऔषध ‘कोकिन’ बरामद गरेका छन्।

यस घटनामा संलग्न रहेको आरोपमा फिलिपिन्सका ४३ वर्षीय नागरिक सिजर तुबाय गेलासिओ जुनियरलाई पक्राउ गरिएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार, ‘मोटर ट्याङ्कर एक्वाट्राभेसिया’ नामको यो कच्चा तेल बोक्ने जहाज इक्वेडरबाट प्रस्थान गरेर अमेरिकातर्फ आउँदै थियो। विशेष सुराकीका आधारमा अमेरिकी गृह सुरक्षा बिभाग अर्थात् ‘होमल्याण्ड सेक्युरिटी’ र ‘कोस्ट गार्ड’ (तटरक्षक बल) को संयुक्त टोलीले बिहीबार जहाज बन्दरगाहमा ओर्लिने बित्तिकै छापा मारेको थियो। उद्धार र खोजी कार्यमा खटिएका तालिमप्राप्त कुकुरहरूले जहाजको फोहोर फाल्ने कोठामा लुकाएर राखिएको ५०० पाउन्ड (करिब २२६ किलोग्राम) कोकिन फेला पारेका थिए।

अनुसन्धानका क्रममा यो लागूऔषध मेक्सिकोको एउटा कुख्यात ‘ड्रग कार्टेल’ (आपराधिक समूह) सम्म पुर्‍याउने योजना रहेको खुलेको छ। जहाज मेक्सिकोको समुद्री क्षेत्रमा हुँदा नै लागू औषध समूहका सदस्यहरूले मे १४ र १५ को राति समुद्रमै साना डुङ्गाहरू लिएर लागू औषध बुझ्न पर्खिरहेका थिए। यदि लागू औषध समयमै नपुर्‍याएमा आपराधिक समूह(कार्टेल)का मानिसहरूले जहाजमै आक्रमण गर्ने धम्की समेत दिएका थिए। जहाजका क्याप्टेन (कप्तान) ले चालक दलका सदस्यहरूसँग सोधपुछ गर्दा उक्त प्रतिबन्धित लागू औषधगेलासिओको रहेको थाहा पाएका थिए र उनले तुरुन्तै यसबारे सुरक्षा निकायलाई खबर गरे।

अमेरिकी सुरक्षा अधिकारीहरूले यो सफल कारवाहीले अन्तर्राष्ट्रिय लागुऔषध ओसारपसार गर्ने आपराधिक सञ्जाललाई ठुलो धक्का दिएको बताएका छन्। यस तस्करी प्रकरणमा गेलासिओ बाहेक अन्य दुई जना शङ्कास्पद व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ।

फक्सन्यूजका अनुसार यदि अदालतबाट दोषी ठहरिएमा मुख्य अभियुक्त गेलासिओलाई जन्मकैद सम्मको कडा सजाय हुन सक्ने अमेरिकी सरकारी वकिलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया