क्यालिफोर्नियामा विषाक्त र प्रज्वलनशील ग्याँसको संकट: विस्फोटको खतराले ४०,००० मानिसलाई सुरक्षित ठाउँमा सारियो

इनेप्लिज २०८३ जेठ ९ गते १०:२६ मा प्रकाशित

अमेरिकाको दक्षिणी क्यालिफोर्निया राज्यको गार्डेन ग्रोभ सहरमा एउटा हवाईजहाजका पार्टपुर्जा बनाउने प्रतिष्ठान (कम्पनी)मा रहेको रासायनिक ट्याङ्क (रसायन राख्ने भाँडो)अत्यधिक तातेर ‘क्राइसिस’ (संकट) मा परेको छ।

यो ट्याङ्क जुनसुकै बेला फुट्न वा ठुलो विस्फोट हुन सक्ने खतरा बढेपछि अधिकारीहरूले आसपासका करिब ४०,००० बासिन्दाहरूलाई तुरुन्तै घर छोडेर सुरक्षित ठाउँमा जान आदेश दिएका छन्।

उक्त रसायन राख्ने भाँडो अर्थात् ट्याङ्कमा मिथाइल मेथाक्राइलेट’ नामको खतरनाक रसायन छ, जुन प्लास्टिक बनाउन प्रयोग गरिन्छ। अग्निनियन्त्रक अधिकारीहरूका अनुसार अहिले ट्याङ्कसँग केवल दुईवटा विकल्प बाँकी रहेको जनाएका छन् ।

उनीहरुका अनुसार पहिलो ,यो फुट्नेछ अर्थात् ६ देखि ७ हजार ग्यालन घातक रसायन भुइँमा पोखिन सक्ने छन् या दोश्रो यो अत्याधिक तातेर पड्किनेछ। यदि विस्फोट भएमा यसले आसपासका अन्य इन्धन ट्याङ्कहरूलाई पनि असर गर्नेछ।

यो रसायन स्वास्थ्यका लागि निकै हानिकारक, विषाक्त र प्रज्वलनशील छ। यदि यो हावामा फैलियो वा विस्फोट भयो भने यसको ग्याँसले गर्दा श्वासप्रश्वासमा गम्भीर समस्या, आँखा र छाला चिलाउने, आँखा पोल्ने, घाँटी दुख्ने, र बान्ता हुने जस्ता समस्या आउन सक्छन्।

जोखिमलाई ध्यानमा राख्दै क्षेत्रका एक दर्जनभन्दा बढी विद्यालयहरू बन्द गरिएका छन्। अहिले अग्निनियन्त्रकहरूले पानीको फोहोरा प्रयोग गरेर ट्याङ्कको तापक्रम घटाउने प्रयास गरिरहेका छन्, जसले गर्दा केही समय प्राप्त भएको छ।

प्राविधिकहरू रातभरि खटेर दुर्घटना रोक्ने उपाय खोजिरहेका छन् भने क्यालिफोर्नियाका गभर्नरको कार्यालयले पनि यस घटनाको नजिकबाट अनुगमन गरिरहेको छ।

प्रतिक्रिया