
बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरणमा ‘आचार्य’ गर्नुभएका त्रिभाषिक विद्वान् (संस्कृत, नेपाली र हिन्दी) तुलसीराम कँडेल (पिता खिमानन्द कँडेल र माता लीलावती कँडेलका सुपुत्र) को यो साहित्यिक साधनाको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ। अमेरिकाको ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCATC) मा प्रतिष्ठित कथावाचक पूज्य ईश्वर कृष्ण महाराजजी र क्यानाडाका संगीत मर्मज्ञ धर्मदास शास्त्रीजी (साथमा उहाँकै सुपुत्रको तबला वादन) को सांगीतिक उपस्थितिमा यस ग्रन्थको ९ दिनसम्म भव्य पाठ पारायण तथा संगीतमय कथा सम्पन्न भएको थियो। उक्त ऐतिहासिक कथामा ड्यालसका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले महाराजजीको साथसाथै सुमधुर आवाजमा दोहा-चौपाई गाउँदै कथा श्रवण गरेका थिए, जसले प्रवासी नेपाली समाजमा आध्यात्मिक जागरणको ठूलो छाप छोडेको थियो।

यसैगरी, हाल धादिङको सल्यानटारस्थित नृसिंह धाममा पुरुषोत्तम महिना (मलमास) को पावन अवसर पारेर आयोजित ‘पुरुषोत्तम महामहोत्सव’ मा पनि यसै ग्रन्थको भव्य पारायण र संगीतमय कथा प्रवचन भइरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संगीतकारहरू र वाद्य वादकहरूको जुगलबन्दीका साथ पूज्य ईश्वर कृष्ण महाराजजीले १५ दिनसम्म गरिरहनुभएको यो कथा वाचनले नेपालको पूर्वदेखि पश्चिमसम्मका हजारौँ भक्तजनहरूलाई आकर्षित गरेको छ। गोस्वामी तुलसीदासकृत मूल अवधि भाषाको रामचरितमानसका दोहा-चौपाईलाई आचार्य कँडेलले जस्ताको तस्तै नेपाली छन्दमा लयबद्ध रूपमा अनुवाद गर्नुभएको यो कृतिलाई महाराजजीले आफ्नो सुमधुर स्वरमा प्रस्तुत गर्दा धाममा दिनहुँ जनसागर उर्लिने गरेको छ।

प्रवासमा रहेर पनि आफ्नो माटो, भाषा, संस्कृति र अध्यात्मका लागि कँडेलजीले गर्नुभएको यो भगीरथ प्रयास र आगामी जेठ ११ गते बाग्लुङमा हुने शिव स्थापना दिवसको ऐतिहासिक रथयात्राले नेपाली धार्मिक वाङ्मयमा एउटा नयाँ र सुनौलो इतिहास रचेको छ।


प्रतिक्रिया