
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी मध्येको एक ‘एनभिडिया’का मालिक जेन्सेन हुआङ आफ्नो साथमै रहेको स्पष्ट परेका छन् । केही सञ्चारमाध्यमले जेन्सेन हुआङ यो भ्रमणमा सहभागी नभएको भन्ने “झुटो समाचार” फैलाएपछि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत त्यसको खण्डन गरेका छन् ।
राष्ट्रपतिको बिमान अर्थात् एअर फोर्स वानमा को-को छन्?
राष्ट्रपति ट्रम्प चीनसँगको आर्थिक सम्बन्ध सुधार्न एउटा ठूलो टोली लिएर बेइजिङ प्रस्थान गरेका छन् । उनको विशेष विमान ‘एअर फोर्स वान’ मा जेन्सेन हुआङ मात्र होइन, विश्वका दिग्गज व्यापारीहरूको लर्को छ। यसमा टेस्लाका मालिक इलन मस्क, एप्पल प्रमुख टिम कुक, बोइङका केली ओर्टबर्ग र गोल्डम्यान स्याक्सका डेभिड सोलोमन जस्ता प्रभावशाली व्यक्तिहरू सामेल छन्।
ट्रम्पले ठट्टा गर्दै लेखेका छन् , “महान जेन्सेन हुआङ अहिले एअर फोर्स वानमै मसँग छन् । मैले नभनेसम्म उनि त्यहीँ रहने छन् , र म उनलाई विमानबाट ओर्लन भन्दिनँ किनभने उनि हाम्रो देशका लागि महत्त्वपूर्ण हुनुहुन्छ।”
ट्रम्पको यो भ्रमणको मुख्य उद्देश्य चीनको विशाल बजारलाई अमेरिकी कम्पनीहरूका लागि अझ सजिलै खुला गराउनु हो। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘असाधारण नेता’ को संज्ञा दिँदै भनेका छन् उनको पहिलो माग नै अमेरिकी व्यापारका लागि चीनको ढोका खोल्नु हुनेछ। ट्रम्पका अनुसार यी व्यापारीहरूले आफ्नो “जादु” देखाएर दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछन्।
अहिलेको युग कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्) को हो, र एनभिडिया कम्पनीले एआईका लागि चाहिने सबैभन्दा शक्तिशाली ‘चिप्स’ बनाउँछ। अमेरिका र चीनबीच प्रविधिको क्षेत्रमा ठूलो प्रतिस्पर्धा छ। यस्तो अवस्थामा हुआङको उपस्थिति हुनुले अमेरिकाले प्रविधि व्यापारमा चीनसँग नयाँ र बलियो सम्झौता गर्न चाहेको संकेत गर्दछ।
ट्रम्पले यो भ्रमण दुवै देशका लागि इतिहासकै सबैभन्दा फाइदाजनक काम हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया