भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या २,५९५ पुग्यो, करिब ३८,५०० मानिस अझै सम्पर्कविहीन

इनेप्लिज २०८३ असार १९ गते ११:४० मा प्रकाशित

भेनेजुएलामा गएको विनाशकारी दोहोरो भूकम्पपछि मृत्यु हुनेको संख्या २,५९५ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार यो जानकारी दिँदै उद्धार तथा खोजी कार्य अझै जारी रहेको बताइन्। यो संख्या अघिल्लो दिनभन्दा करिब ३०० बढी हो।

सरकारी विवरण अनुसार १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। कति जना अझै बेपत्ता छन् भन्ने स्पष्ट जानकारी दिइएको छैन, तर अनौपचारिक सूचीमा करिब ३८,५०० मानिस अझै सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ।

गत बुधबार ७.२ परिमाण (म्याग्निच्युड)को भूकम्पपछि केही सेकेन्डमै ७.५ म्याग्निच्युडको ठूलो धक्का गएको थियो। सन् १९०० यताकै यो भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ। राजधानी काराकास र तटीय राज्य ला ग्वाइरामा सयौँ भवन भत्किएका छन्। मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।

सरकारका अनुसार करिब ८०० भवन ढलेका छन्, जसमध्ये १८९ पूर्ण रूपमा नष्ट भएका छन्। नासा र ओरेगन राज्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करिब ५८,८७० भवन क्षतिग्रस्त वा ध्वस्त भएको अनुमान गरेका छन्।

संयुक्त राष्ट्रसंघले प्रत्यक्ष भौतिक क्षति ६.७ अर्ब डलर बराबर रहेको जनाएको छ भने कुल आर्थिक नोक्सानी १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

उद्धार कार्यमा अमेरिका, ब्राजिल, मेक्सिको, क्यानडा, क्युबा र स्विट्जरल्यान्डलगायत धेरै देशले सहयोग गरिरहेका छन्। अमेरिकाले ९०० भन्दा बढी उद्धारकर्मी पठाएको र १५ करोड डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

यसबीच भेनेजुएला सरकारले आफूले भूकम्पपछि तुरुन्तै आपतकालीन योजना लागू गरेको दाबी गर्दै ढिलो प्रतिक्रिया दिएको आरोप अस्वीकार गरेको छ।

प्रतिक्रिया