
अध्यात्म र भक्तिको सुगन्ध फैलाउन भारतको पवित्र भूमि वृन्दावनबाट अमेरिका आइपुग्नुभएकी विश्वविख्यात कथा वाचिका देवी प्रतिभाजीको मुखारविन्दबाट मेरिल्याण्डमा ‘श्रीमद्भागवत कथा’को दिव्य अमृत वर्षा प्रारम्भ भएको छ। गत बिहीबार बिहान मेरिल्याण्ड राज्यको पोटोम्याकस्थित प्रसिद्ध हरे कृष्ण मन्दिर (इस्कन) मा भव्य कलश यात्रासहित कथाको विधिवत् शुभारम्भ गरिएको हो।

कथा प्रारम्भ हुनुअघि बिहीबार बिहान आयोजित विशेष कलश यात्रामा श्रद्धालु भक्तजन, आमन्त्रित अतिथि, मन्दिरका पदाधिकारी तथा स्थानीय नेपाली समुदायका महिला एवं पुरुषहरूको ठुलो संख्यामा उत्साहजनक सहभागिता रहेको थियो। सांस्कृतिक तथा आध्यात्मिक झाँकीसहितको कलश यात्रा समापन भएलगत्तै देवी प्रतिभाजीले श्रीमद्भागवत महापुराणको कथा वाचन सुरु गर्नुभएको थियो। आइतबार राती ८ बजेसम्म निरन्तर चल्ने यस आध्यात्मिक महोत्सवमा सहभागी भई पुण्य कमाउन आयोजक समितिले सम्पूर्ण श्रद्धालुहरूमा हार्दिक आह्वान गरेको छ।

वृन्दावनदेखि अमेरिकासम्म: नेपाली चेलीको आध्यात्मिक यात्रा :
नेपाली मूलकी चेली तथा विश्वभरका करोडौँ भक्तहरू माझ लोकप्रीय रहनुभएकी देवी प्रतिभाजी पहिलो पटक अमेरिका आइपुग्नुभएको हो। उहाँलाई स्वागत गर्न मेरिल्याण्डस्थित नेपाली समुदाय र आध्यात्मिक प्रेमीहरूमा अभूतपूर्व उत्साह देखिएको छ। गत मे ४ सोमबारका दिन अमेरिका अवतरण गर्नुभएकी उहाँलाई स्वागत गर्न इस्कन मन्दिरका पण्डित लक्ष्मण भण्डारी, कार्यक्रम व्यवस्थापन गर्ने वेलडन क्रिएसनका शंकर घिमिरे, पण्डित राजेन्द्र खनाल, डा. योगेन्द्र बलारा र सोनिया बलारा लगायतका भक्तजनहरू विमानस्थल पुग्नुभएको थियो।

विशेष कार्यक्रम तालिका :
पोटोम्याकको इस्कन मन्दिरमा मे ७ देखि सुरु भएको यो विशेष आध्यात्मिक उत्सव मे १० तारिखसम्म सञ्चालन हुनेछ। कार्यक्रमको पहिलो दिन (मे ७) कलश यात्रा र कथाको समुद्घाटन सफलतापूर्वक सम्पन्न भइसकेको छ। आगामी दिनको समय तालिका यस प्रकार रहेको छ:
मे ८ (शुक्रबार): दिउँसो ४:०० बजेदेखि बेलुका ८:३० सम्म।
मे ९ (शनिबार):बिहान १०:०० देखि दिउँसो २:०० बजेसम्म र पुनः दिउँसो ४:०० देखि बेलुका ८:०० सम्म।
मे १० (आइतबार):बिहान १०:०० देखि दिउँसो २:०० बजेसम्म र समापन शत्र दिउँसो ४:०० देखि बेलुका ८:०० सम्म।
विश्वव्यापी प्रभाव र आगामी गन्तव्य :
आफ्नो सरल, सुमधुर र मनछुने कथा वाचन शैलीका लागि चर्चित देवी प्रतिभाजीले सुनाउने भगवानका लीलाहरूले मानिसको मनमा शान्ति, सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना भर्ने विश्वास गरिन्छ। मेरिल्याण्डको यो भव्य कार्यक्रम सम्पन्न भएलगत्तै उहाँले न्यूयोर्क, ह्यारिसबर्ग, ओहायो, अस्टिन र बाल्टिमोरमा पनि श्रीमद्भागवत कथा वाचन गर्नुहुने कार्यक्रम तय भएको छ।
सहभागिता र सहयोगको अपिल :
आयोजकले भक्तजनहरूलाई 10310 Oaklyn Dr, Potomac, MD 20854 मा रहेको मन्दिरमा उपस्थित भई दर्शन लाभ लिन अनुरोध गरेको छ। कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्न चाहने महानुभावहरूका लागि चेक, भेन्मो (Venmo) वा जेल (Zelle) मार्फत दान गर्ने सुविधा समेत उपलब्ध गराइएको छ। थप जानकारीका लागि पण्डित लक्ष्मण भण्डारी र प्रेमजीलाई सम्पर्क गर्न सकिनेछ।
अध्यात्ममा रुचि राख्ने सम्पूर्णका लागि यो एक सुनौलो र दुर्लभ अवसर हो। आउनुहोस्, हामी सबै मिलेर भागवत कथाको यो दिव्य र पावन सागरमा डुबुल्की मारी आफ्नो जीवनलाई धन्य बनाऔँ।

प्रतिक्रिया