“युद्ध अझै ३ हप्ता चल्न सक्छ” : राष्ट्रपति ट्रम्प

हर्मुज जलडमरूमध्यमा अमेरिकी नियन्त्रण, तेल मूल्य बढ्ने चिन्ता तीव्र

इनेप्लिज २०८३ वैशाख २२ गते १०:२६ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझै २ देखि ३ हप्ता सम्म चल्न सक्ने बताएका छन्। सोमबार हग हेवीटसँगको टेलिफोन (दूरवाणी)अन्तर्वार्तामा उनले युद्धविराम सकिएको हो वा होइन भन्नेबारे स्पष्ट जवाफ दिएनन्।

इरानले युएइमा क्षेप्यास्त्र र मानव रहित यान (मिसाइल र ड्रोन )आक्रमण गरेपछि अवस्था फेरि तनावपूर्ण बनेको छ। यसबारे प्रश्न सोध्दा ट्रम्पले भने, “हामी जसरी पनि जित्छौं।” उनले थपे, “हामी राम्रो सम्झौता गर्छौं वा सजिलै जित्छौं, सैनिक हिसाबले त हामी पहिले नै जितिसकेका छौं।”

ट्रम्पका अनुसार इरानसँग पहिले १५९ वटा जहाज थिए, तर अहिले सबै समुद्रमा डुबिसकेका छन्। उनले भने ,अमेरिका अहिले पनि शक्तिशाली अवस्थामा छ र युद्ध चलिरहँदा समयको कुनै दबाब छैन।

अमेरिकाले स्वतन्त्र परियोजना अर्थात् प्रोजेक्ट फ्रिडम नामको सैनिक अभियान सुरु गरेर हर्मुज जलडमरुमा नियन्त्रण लिएको दाबी पनि ट्रम्पले गरेका छन्।

तेलको मूल्य बढ्ने चिन्ताबारे बोल्दै ट्रम्पले भने कि मूल्य २५० डलरसम्म पुग्न सक्छ, तर अहिले जहाजहरू अमेरिका तर्फ तेल लिन आउन थालेको पनि उनले बताए।

इरानको परमाणु कार्यक्रमबारे पनि ट्रम्पले टिप्पणी गरे। उनले अन्तर्वार्तामा भने ,इरानसँग रहेको युरेनियम खासै उपयोगी छैन । उनले पहिले गरेको सैन्य कारबाहीमार्फत इरानको परमाणु क्षमता कमजोर बनाइएको दाबी गरे।

यसैबीच, साउदी अरबका राजकुमारले यूएईमाथि भएको इरानी आक्रमणको कडा विरोध गरेका छन् । र , सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तर इरानका विदेशमन्त्री अब्बास अराघचीले भने, “यो समस्या सैनिक रूपमा समाधान हुन सक्दैन।” उनले वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका छन्।

प्रतिक्रिया