
आइतबार ‘स्ट्रेट अफ हर्मुज’ अर्थात् समुन्द्री जलडमरु नजिकै एउटा सामान बोक्ने ठूलो जहाजमाथि साना डुङ्गाहरूले आक्रमण गरेका छन्। बेलायती सैन्य निकायका अनुसार इरानसँगको युद्ध सुरु भएयता यस क्षेत्रमा भएको यो २४ औँ पटकको आक्रमण हो। इरानको सिरिक क्षेत्र नजिकै भएको यो हमलामा जहाजका सबै कर्मचारीहरू सुरक्षित रहेको बताइएको छ।
इरानले यो समुद्री बाटो आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएको छ। उनीहरूका अनुसार अमेरिका वा इजरायलसँग सम्बन्ध नभएका जहाजहरूले पैसा (टोल) तिरेर मात्र यो बाटो प्रयोग गर्न पाउँछन्। यो क्षेत्रमा इरानी गस्ती टोलीले साना र छिटो चल्ने डुङ्गाहरू प्रयोग गर्ने गर्छन्, जसलाई पत्ता लगाउन निकै गाह्रो हुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै यस्ता शङ्कास्पद डुङ्गाहरूलाई देख्ने बित्तिकै कारबाही गर्न आफ्नो सेनालाई निर्देशन दिइ सकेका छन् ।
अर्कोतर्फ, इरान र अमेरिकाबीच युद्ध रोक्ने विषयमा पनि छलफल भइरहेको छ। इरानले युद्ध अन्त्यका लागि एउटा प्रस्ताव पठाएको थियो, जसमा अमेरिकाले दिएको जवाफलाई अहिले इरानले अध्ययन गरिरहेको छ। तर इरानले यो छलफल परमाणु हतियारको बारेमा नभई केवल युद्ध रोक्ने विषयमा मात्र भएको प्रष्ट पारेको छ।
इरानको प्रस्तावमा अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धहरू हटाउनुपर्ने, समुद्री नाकाबन्दी खोल्नुपर्ने र यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने जस्ता १४ वटा बुँदाहरू राखिएका छन्। इरानले यो प्रस्ताव पाकिस्तानमार्फत अमेरिकालाई पठाएको हो।
यद्यपि, राष्ट्रपति ट्रम्पले यो प्रस्तावबाट सजिलै सम्झौता हुनेमा शङ्का व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् इरानले विगतका गल्तीहरूको अझै ठूलो मूल्य चुकाउन बाँकी छ। हाललाई तीन हप्तादेखि जारी युद्धविराम कायमै देखिए पनि अवस्था अझै संवेदनशील छ। दुवै देशबीच सीधा वार्ता गराउन पाकिस्तान र ओमान जस्ता देशहरूले प्रयास गरिरहेका छन्।
प्रतिक्रिया