
अमेरिकाको केन्टकी राज्यमा शनिबार भएको विश्वकै प्रसिद्ध घोडा दौड प्रतियोगिता ‘केन्टकी डर्बी’ मा चेरी डिभोले ऐतिहासिक सफलता हात पारेकी छिन्। उनी यो प्रतियोगिता जित्ने घोडाको प्रशिक्षक (ट्रेलर) बन्ने पहिलो महिला बनेकी छिन्। उनको प्रशिक्षणमा रहेको ‘गोल्डेन टेम्पो’ नामक घोडाले अन्तिम समयमा तीव्र गति लिँदै सबैलाई उछिनेर पहिलो स्थान हासिल गर्यो।
आफ्नो प्रशिक्षण यात्रा सुरु गरेको आठ वर्षमै डिभोले यो ठूलो उपलब्धि हासिल गरेकी हुन्। यसअघि सन् २०२३ मा जेना एन्टोनुचीले ‘बेलमोन्ट स्टेक्स’ जितेर इतिहास रचेकी थिइन् भने डिभो यो सफलता पाउने दोस्रो महिला प्रशिक्षक बनेकी छिन्। आफ्नो जितपछि खुसी हुँदै उनले भनिन्, “म निकै खुसी छु, हामीले चाहेको खण्डमा महिलाहरूले जे पनि गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो।” उनी आगामी पुस्ताका बालिकाहरूका लागि आफू एक प्रेरणाको स्रोत बन्न पाएकोमा गर्व गर्छिन्।

चर्चिल डाउन्समा १ लाखभन्दा बढी दर्शकहरूको उपस्थितिमा भएको यो दौड निकै रोमान्चक थियो। ‘गोल्डेन टेम्पो’ लाई होजे ओर्टिजले चलाएका थिए। सुरुमा पछि परेको यो घोडाले अन्तिम समयमा मुख्य दाबेदार ‘रेनेगेड’ लाई उछिन्दै १.२५ माइलको दूरी २ मिनेट २.२७ सेकेन्डमा पूरा गर्यो। होसे ओर्टिजले आफ्नो ११औँ प्रयासमा यो प्रतिष्ठित उपाधि जितेका हुन्, जुन उनको जीवनकै ठूलो सपना थियो।
यस पटकको प्रतियोगितामा केही घोडाहरू घाइते भएका कारण अन्तिम समयमा सहभागी हुन पाएनन्। ‘ग्रेट ह्वाइट’ नामको घोडा दौड सुरु हुनु केही समयअघि मात्रै मैदानबाट हटाइएको थियो। कुल २० वटा घोडा सहभागी हुने भनिए पनि अन्त्यमा १८ वटाले मात्र प्रतिस्पर्धा गरेका थिए।
यो जितले खेलकुदको क्षेत्रमा महिलाहरूको क्षमता र मेहनतको नयाँ उचाइलाई विश्वसामु चिनाएको छ।
प्रतिक्रिया