
अमेरिकाको न्यु जर्सी राज्यमा बसोबास गर्ने चार जना व्यक्तिहरूमाथि अमेरिकी निर्वाचनमा अवैध रूपमा मतदान गरेको र नागरिकता प्राप्त गर्ने प्रक्रियामा झूटो विवरण पेश गरेको गम्भीर आरोप लागेको छ। सङ्घीय अभियोजकहरूले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, यी व्यक्तिहरू अमेरिकी नागरिक नहुँदै मतदान प्रक्रियामा सहभागी भएका थिए।
अमेरिकी कानुन अनुसार सङ्घीय निर्वाचन (जस्तै: राष्ट्रपति वा सांसदको चुनाव) मा मत हाल्नका लागि अनिवार्य रूपमा अमेरिकी नागरिक हुनुपर्छ। एबिसीन्यूजका अनुसार तर, पक्राउ परेका चारै जनाले सन् २०२० देखि २०२४ सम्मको अवधिमा कम्तीमा एक पटक मत हालेको पाइएको छ। यस अवधिमा दुईवटा राष्ट्रपति निर्वाचन र एक पटक मध्यावधि चुनाव भएका थिए।
सरकारी वकिलहरूका अनुसार, यी व्यक्तिहरूले पहिले मतदान गरे र पछि नागरिकताका लागि आवेदन दिँदा आफूले कहिल्यै मतदान नगरेको भनी झूटो विवरण आवेदन पत्र भरेका थिए। यो अमेरिकी कानुनको गम्भीर उल्लङ्घन हो।
न्यु जर्सीका अमेरिकी अधिवक्ता रोबर्ट फ्रेजरले भने , “हाम्रो निर्वाचन प्रणालीको निष्पक्षता जोगाउन हामी प्रतिबद्ध छौँ र यस्ता गैरकानुनी कार्य गर्नेलाई छोडिने छैन।” गत वर्ष मात्रै निर्वाचनसम्बन्धी अपराधहरू, जस्तै: फर्जी दर्ता, दोहोरो मतदान र गैर-नागरिकले गर्ने मतदान रोक्न एउटा विशेष टोली गठन गरिएको थियो।
यद्यपि, निर्वाचन अधिकारीहरूका अनुसार अमेरिकामा यस्ता घटनाहरू निकै कम र छिटपुट रूपमा हुने गर्छन्। अमेरिकाको निर्वाचन प्रणाली धेरै तहमा विभाजित र स्वतन्त्र हुने भएकाले ठूलो स्तरमा धाँधली गर्न असम्भव रहेको उनीहरूको दाबी छ।
अहिले उनीहरूमाथि अवैध मतदान, झूटो बयान र गैरकानुनी रूपमा नागरिकता लिन खोजेको मुद्दा चलाइएको छ। दोषी ठहरिएमा उनीहरूको नागरिकता रद्द हुन सक्ने र उनीहरूलाई अमेरिकाबाट निकाला समेत गर्न सकिने कानुनी प्रावधान छ।
प्रतिक्रिया