
न्युयोर्कको क्विन्सस्थित ओजोन पार्कमा गत बिहीबार एक भयानक घर विष्फोट भएको छ। यो घटनामा न्युयोर्क प्रहरी विभागका अधिकारीहरूले देखाएको असाधारण साहसको अहिले सर्वत्र प्रशंसा भइरहेको छ। उनीहरूले आफ्नो ज्यानको पर्वाह नगरी आगोको ज्वालाबाट एक बालक र अन्य व्यक्तिहरूको ज्यान बचाउन सफल भएका छन्।
घटना गत बिहीबार बिहानको हो। एक महिलाले ९११ मा दूरवाणी (फोन) गरेर आफ्नो छुट्टिएर बसेको श्रीमान् जबर्जस्ती घरभित्र पसेको जानकारी दिएकी थिइन्। ती व्यक्ति मातेको अवस्थामा रहेको र हातमा चक्कु लिएको बताइएको थियो। साथै, उनीसँग दुईवटा फोहोर फाल्ने झोला थिए, जसमा केही शंकास्पद पहेँलो डब्बाहरू थिए।
प्रहरीहरू घटनास्थलमा पुग्ने बित्तिकै उनीहरूले ग्यासको कडा गन्ध महसुस गरे। जब उनीहरू घरको ढोकाबाट भित्र छिर्न लागे, अचानक एक ठूलो र भयानक विष्फोट भयो। विष्फोट यति शक्तिशाली थियो कि घरै ध्वस्त भयो र प्रहरी अधिकारीहरू भुइँमा पछारिए।
विष्फोट लगत्तै जताततै आगो र धुवाँ फैलिएको थियो। तर, भुइँमा पछारिएका प्रहरीहरू तुरुन्तै उठे र अरूको ज्यान बचाउन भत्किएको घरभित्र पसे। प्रहरीको ‘बडी क्याम’ (शरीरमा जडान गरिएको चित्रग्राहिणी) मा कैद भएको श्रब्यदृश्य (भिडियो)मा एक प्रहरीले सानो बालकलाई काखमा च्यापेर सुरक्षित बाहिर निकालिरहेको दृश्य देखिन्छ।
विष्फोटपछि घरको भग्नावशेषमुनि ती शंकास्पद व्यक्तिको शव फेला परेको छ। यस घटनामा सात जना प्रहरी अधिकारीहरू घाइते भएका छन्। उनीहरूको शरीरका केही भाग जलेको र चोटपटक लागेको छ। उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो र अहिले उपचारपछि रिहा गरिएको छ। अन्य केही स्थानीय मानिसहरू पनि सामान्य घाइते भएका छन्।
न्युयोर्कका प्रहरी आयुक्त जेसिका टिसले भनिन् , “यो हाम्रा प्रहरीहरूको बहादुरीको अर्को एउटा ठूलो उदाहरण हो। उनीहरूले अपरिचित व्यक्तिको सुरक्षाका लागि आफ्नो ज्यान दाउमा राखे।” अहिले यो विष्फोट कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया