
अमेरिकाले आगामी ६ देखि १२ महिनाभित्र जर्मनीमा रहेका आफ्ना करिब ५,००० सैनिकहरू हटाउने निर्णय गरेको छ। पेन्टागन (अमेरिकी रक्षा बिभाग) ले शुक्रबार यसको आधिकारिक घोषणा गरेको हो। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीका नेताबीच इरानसँगको युद्धलाई लिएर भइरहेको विवादपछि आएको हो।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जबारे ट्रम्पले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। मर्जले अमेरिकाको इरान रणनीतिमाथि प्रश्न उठाएका थिए, जसले ट्रम्पलाई रुष्ट बनाएको थियो। अहिले जर्मनीमा जम्मा ३६,००० अमेरिकी सैनिकहरू छन्। तीमध्ये १४ प्रतिशत अर्थात् ५,००० सैनिक अब त्यहाँबाट फर्किनेछन्।
जर्मनी अमेरिकाका लागि निकै महत्त्वपूर्ण ठाउँ हो। त्यहाँ अमेरिकाका ठूला सैन्य अखडाहरू, अस्पताल र क्षेप्यास्त्रहरू राखिएका छन्। तर राष्ट्रपति ट्रम्पले लामो समयदेखि युरोपेली देशहरूले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने र अमेरिकामाथि मात्र भर पर्न नहुने बताउँदै आएका छन्।
ट्रम्पको यो कदमको अमेरिकाभित्रै विरोध सुरु भएको छ। कतिपय नेताहरूले यो निर्णयले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने र अमेरिकाको सुरक्षा कमजोर हुने बताएका छन्। सिनेटर ज्याक रीडले यसलाई “लापरवाहीपूर्ण कदम” भन्दै यसले पुराना मित्र राष्ट्रहरूसँगको सम्बन्ध बिगार्ने चेतावनी दिएका छन्।
रक्षा विज्ञहरूका अनुसार जर्मनीमा अमेरिकी सेना रहनुको अर्थ युरोप मात्र होइन, अफ्रिका र मध्यपूर्वमा पनि सुरक्षा कायम राख्नु हो। सेना हट्दा यी क्षेत्रमा अमेरिकाको शक्ति कम हुन सक्छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यस्तै प्रयास गरेका थिए, तर पछि राष्ट्रपति जो बाइडेनले त्यो निर्णय रोकेका थिए। तर यसपटक इरानसँगको युद्ध र नेटो देशहरूसँगको विवादका कारण ट्रम्पले यो निर्णय लागू गर्न खोजेका हुन्। जर्मनीले इरानको बारेमा चिन्ता गर्नुभन्दा आफ्नो देशको समस्या र रुस-युक्रेन युद्ध अन्त्य गर्नमा ध्यान दिनुपर्छ भन्ने ट्रम्पको भनाइ छ ।
यो निर्णयले युरोपेली देशहरूमा डर पैदा गरेको छ। अब युरोपले आफ्नो सुरक्षाका लागि अमेरिकाको मुख ताक्नुको सट्टा आफैँ बलियो हुनुपर्ने सन्देश यसले दिएको छ।
प्रतिक्रिया