
अमेरिकाको मध्य केन्टकी राज्यको बेरिया शहरमा बिहीबार दिउँसो एक भयानक बैंक डकैती भएको छ। मुकुण्डो अर्थात्ल मास्क लगाएका एक सशस्त्र व्यक्तिले बैंकभित्र पसेर दुई जना कर्मचारीको गोली हानी हत्या गरेका छन्। घटनापछि ती संदिग्ध व्यक्ति फरार रहेकाले प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ।
केन्टुकी राज्य प्रहरीका अनुसार, यो घटना चेस्टनट स्ट्रिट(गल्ली)मा रहेको ‘युएस बैंक’मा दिउँसो करिब २ बजे भएको थियो। आक्रमणकारीले बैंकभित्र पसेर कर्मचारीमाथि गोली चलाएपछि त्यहाँबाट भागेका थिए। ती व्यक्तिले बैंकबाट पैसा वा अन्य कुनै सामग्री लगे/नलगेको बारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन।
प्रहरीले शंकास्पद व्यक्तिको हुलिया पनि सार्वजनिक गरेको छ। ती व्यक्ति करिब ६ फिट ३ इन्च अग्ला छन् र उनले हल्का रङको टाउको छोप्ने वस्त्र (हुडी), खरानी रङको पाइन्ट र गाढा रङको पञ्जा लगाएका थिए। एबिसीन्यूजका अनुसार उनी पैदल भागेका हुन् वा कुनै गाडी प्रयोग गरेका छन् भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।
प्रहरी अधिकारी स्कटी पेनिङ्टनले पत्रकार सम्मेलनमा भने “बेरियाका नागरिकहरू अहिले त्रसित छन्,हामी बुझ्छौँ । हामी यो अपराधीलाई न्यायको कठघरामा ल्याउन आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ।” प्रहरीले स्थानीय बासिन्दाहरूलाई सतर्क रहन, घरको ढोका थुनेर बस्न र बाहिरको बत्ती बालेर राख्न सल्लाह दिएको छ।
प्रहरीले अपराधीलाई थप हिंसा नगर्न र आत्मसमर्पण गर्न चेतावनी समेत दिएको छ। १६ हजारभन्दा बढी जनसंख्या भएको बेरिया सहरमा भएको यो हिंसात्मक घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
प्रतिक्रिया