
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२६ को विश्वकप भकुण्डो (फुटबल)मा इरानले सहभागिता जनाउने र अमेरिकामा खेल्ने कुरा स्पष्ट पारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले भने , “पक्कै पनि इरानले संयुक्त राज्य अमेरिकामा खेल्नेछ। यसको कारण सरल छ—हामीले विश्वलाई एकताबद्ध बनाउनु पर्छ।”
अध्यक्ष इन्फान्टिनोले भकुण्डो (फुटबल)ले मानिसहरूलाई एक ठाउँमा ल्याउने र संसारलाई जोड्ने फिफाको जिम्मेवारी रहेको उल्लेख गरेका छन् । इरानले यसबारे अहिलेसम्म कुनै औपचारिक टिप्पणी गरेको छैन। यसअघि इरान र अमेरिका–इजरायल बीचको युद्धका कारण इरानी खेलकुद मन्त्रीले विश्वकपमा सहभागी नहुने संकेत दिएका थिए । तर, अप्रिल ७ देखि युद्धविराम लागू भएपछि परिस्थिति फेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस घोषणाको समर्थन गरेका छन् । उनले भने , “यदि जियानीले यसो भनेका हुन् भने मलाई कुनै आपत्ति छैन। उनीहरूलाई खेल्न दिनुहोस्।” ट्रम्पले फिफा अध्यक्ष आफ्नो राम्रो मित्र भएको र खेलकुदका विषयमा आफू सकारात्मक रहेको बताए । ह्वाइट हाउसका अनुसार गत मार्चमा भएको भेटमा पनि ट्रम्पले इरानी टोलीलाई अमेरिकामा स्वागत गर्ने संकेत दिएका थिए ।

इरानी टोली विश्वकपको समूह ‘जी’ मा रहेको छ। यो समूहमा इरानसँगै इजिप्ट, न्युजिल्यान्ड र बेल्जियम रहेका छन्। सन् २०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। इरानको सहभागिताले खेलकुदको माध्यमबाट कूटनीतिक दूरी कम हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया