
अमेरिकामा रहेका नेपाली चिकित्सकहरूको छाता संगठन ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ले आफ्नो ३०औँ वार्षिक साधारण सभाको अवसरमा शिकागोमा एक भव्य र उत्साहजनक कार्यक्रम आयोजना गर्ने भएको छ। मे २९ देखि ३१ सम्म चल्ने यस सम्मेलनले चिकित्सा ज्ञानको आदानप्रदान मात्र नभई, खेलकुद, युवा सहभागिता र सांस्कृतिक गौरवको एउटा उत्सव नै सिर्जना गर्ने तयारी गरेको छ।
यस पटकको सम्मेलनमा विशेष आकर्षणका रूपमा मैत्रीपूर्ण भकुण्डो प्रतियोगिता थपिएको छ। मे २९, शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म ह्विलिङ स्थित ‘हेरिटेज पार्क स्पोर्ट्स कम्प्लेक्स’ अर्थात् रंगशालाको मैदान नम्बर ३ मा भकुण्डो (फुटबल)को घमासान खेल हुनेछ। चिकित्सक र स्वास्थ्यकर्मीहरू मैदान उत्रिँदाको दृश्य निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेलकुदको माध्यमबाट आपसी भाइचारा बढाउन यो भकुण्डो खेलले ठूलो भूमिका खेल्ने आयोजकले जनाएका छन्।
खेलकुदको सुरुवात भने सोही दिन बिहानैदेखि हुनेछ। मे २९ को बिहान ८ बजे नर्थब्रुकस्थित ‘हेरिटेज ओक्स गल्फ क्लब’ मा गल्फ प्रतियोगिता आयोजना गरिनेछ।
सम्मेलनको अर्को महत्त्वपूर्ण पक्ष ‘पोस्टर प्रिजेन्टेसन’ पर्चापत्र प्रस्तुति र ‘युथ फोरम’ (युवा मञ्च) हो। मे ३०, शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने युवा मंचमा युवा पुस्ताका नेपाली-अमेरिकीहरूले आफ्ना विचार र भविष्यका योजनाहरू प्रस्तुत गर्नेछन्। साथै, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने पोस्टर सत्रमा अनुसन्धानकर्ताहरूले स्वास्थ्य क्षेत्रका नयाँ खोजहरू सार्वजनिक गर्नेछन्। पर्चापत्र (पोस्टर )प्रस्तुतकर्ताहरूका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ, जसमा उनीहरूले शनिबारको सम्पूर्ण कार्यक्रम, गाला रात्री भोजन ,दिवा भोजनमा सहभागिता जनाउन पाउनेछन्।

स्वास्थ्य र मनोरञ्जनलाई जोड्न विभिन्न विभागहरू सक्रिय रहेका छन्। बालबालिकाहरूको बौद्धिक विकासका लागि बाल वादविवादको जिम्मा चिकित्सक नारायण धरेलले सम्हाल्ने भएका छन् ।
चिकित्सा विज्ञानको गहिरो छलफलका लागि सिएमइ चिकित्सक जीवन लामिछाने र रामु खरेल ,जनस्वास्थ्य चिकित्सक किरण सापकोटा र क्लिनिकल सेसन अर्थात ‘उपचार पद्धति सम्बन्धी छलफल’ चिकित्सक शैलेन्द्र शर्माहरुको महत्वपूर्ण विभागहरूले लगभग तयारी गरि रहेका छन् ।

यो सम्मेलन केवल चिकित्सकहरूको भेला मात्र नभई, शिकागोको नेपाली समुदायलाई एकै ठाउँमा ल्याउने एउटा ठूलो अवसर पनि हो।
सन् १९९७ मा डा. अर्जुन कार्कीको नेतृत्वमा न्यूयोर्कबाट सुरु भएको यो पवित्र यात्रा आज डा. विष्णु सापकोटाको अध्यक्षतामा ३० औँ वर्षको शिखरमा आइपुगेको छ। ३०० भन्दा बढी स्वास्थ्य परियोजनाहरू सम्पन्न गरिसकेको यस संस्थाले २०७२ को महाभूकम्प होस् वा कोभिड-१९ को महाविपत्ति, हरेक पटक नेपाल र नेपालीको ढाल बनेर काम गरेको छ। ‘५०१ (सि) (३)’ मान्यता प्राप्त यो स्वयंसेवी संस्थाले अस्पताल निर्माणदेखि दूरउपचार सम्म पुर्याएको योगदान अतुलनीय छ।
विविधतापूर्ण गतिविधिहरू र नेतृत्व :
विभिन्न विधामा विशेषज्ञता राख्ने चिकित्सकहरूले कार्यक्रमलाई भव्य बनाउन नेतृत्व लिइ रहेका छन् ।
बाल वादविवाद: डा. नारायण धरेल (बालबालिकाको बौद्धिक विकासका लागि)
ज्ञानको आदानप्रदान (CME): डा. जीवन लामिछाने र डा. रामु खरेल
जनस्वास्थ्य र क्लिनिकल सेसन:डा. किरण सापकोटा र डा. शैलेन्द्र शर्मा
कसरी सहभागी हुने?
‘द वेस्टिन शिकागो नर्थ शोर’ मा आयोजना हुने यस ऐतिहासिक सम्मेलनमा सहभागी हुन र नेपालको स्वास्थ्य अवस्था सुधार्ने महाअभियानमा जोडिन आयोजकले सबैलाई आह्वान गरेको छ।
दर्ताका लागि लिंक: https://conference.anmf.org/
सोधपुछका लागि: [email protected]
आउनुहोस्, शिकागोमा आयोजित यो गौरवमय भेलामा सहभागी बनौँ र नेपालको स्वास्थ्य क्षेत्रमा एउटा नयाँ इतिहास रचौँ!
प्रतिक्रिया